समाचारमंगलबार, भाद्र २४, २०७१
गोर्खा सैनिकद्वारा पुनः आमरण अनसन बस्ने चेतावनी
संघर्ष समितिले २४ भदौमा जानकारी सभा गर्दै एक बर्षअघि बेलायतको संसदले गरेको बाचा पूरा नभएको भन्दै पुन सत्याग्रह बस्ने चेतावनी दिएको छ ।
समितिका नेपाल संयोजक लालबहादुर घिसिङ र बेलायत संयोजक कृष्णबहादुर राईले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारका प्रतिनिधिहरुले यसबारे ध्यान दिन माग गरेका छन् ।
यसअघि भूतपूर्व गोर्खा सैनिक ज्ञानराज राई र बेलायती नागरिक डा.डेभिड ह्याल्लोरेनले पाँच सूत्रीय माग राख्दै बेलायतमा आमरण अनसन बसेका थिए ।
सन् १९४७ नोभेम्वर ९ मा नेपाल–भारत–बेलायतबीच भएको त्रिपक्षीय सन्धीमा गोर्खा सैनिकलाई भेदभाव नगर्ने सहमति गरिए पनि कार्यान्वयन नभएको भन्दै पूर्व गोर्खा सैनिकहरुले संयुक्त गोर्खा सत्याग्रह संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।
समितिले समान पेन्सन, केटौतीमा परेका गोर्खाहरुलई पेन्सन र क्षतिपूर्ति, गोर्खाका वयस्क छोराछोरीलाई बेलायतमा आवासीय भिसा, नेपालमा बसेका गोर्खा र परिवारलाई शतप्रतिशत निशुल्क औषधी र क्षतिपूर्तिको माग गर्दै आएको छ ।
