थप समाचारमंगलबार, भाद्र २४, २०७१
दोस्रोे दिन पनि प्यूठान बन्द
नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल प्यूठानले २४ भदौ पनि प्युठान बन्द गराएको छ । बन्दले गर्दा जिल्लामा यातायात, बजार ठप्प छन् भने सर्वसाधारणको जनजीवन कष्टकर हुन थालेको छ ।
२२ भदौमा आफ्ना कार्यकर्ता विजुवार–६ का सनत कुमार श्रेष्ठ माथि खुकुरी प्रहार गर्नेलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गर्दै तरुण दलले सोमबारदेखि अनिश्चितकालिन प्यूठान बन्दको आह्वान गरेको हो ।
बन्दले जिल्लाभित्र चल्ने र बाहिर जाने निजी तथा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार पनि बन्द छ ।
एमाले निकट युवा संघका दीपक सापकोटाको टोलीले सुनियोजित आक्रमण गरेको तरुण दलले आरोप लगाएको छ भने युवा संघ प्यूठानले घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ ।
यसैबीच, नेपाली कांग्रेस जिल्ला समिति प्यूठानले बिज्ञप्ति जारी गरि तरुण दलको आन्दोलनमा नेपाली कांग्रेसको सर्मथन रहेको जनाएको छ ।
संविधानसभा निर्वाचनअघि नेपाली कांग्रेसले बन्द हडताल लगायतका कार्यक्रम नगर्ने जनाएको थियो ।
विजयसिंह भारती, प्यूठान
