समाचारशुक्रबार, भाद्र २७, २०७१
संविधान नबनाउन कसले दबाब दियो बाबुरामले स्पष्ट पार्नुपर्छः खड्का
२७ साउनमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले एमाओवादी संविधान बन्न नदिने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
खड्काले भने, “राजनीतिक संवाद समितिका सभापति बाबुराम भट्टराईले संविधान बन्न नदिन दवाव आयो भनेका छन्, त्यो दबाब को र कहाँबाट आएको हो स्पष्ट पार्नु पर्छ ।”
उनले एमाओवादी र नेकपा–माओवादीले विभिन्न बहाना झिकेर अन्य दलहरुलाई अलमल्याउँदै संविधान आउन नदिने दाउमा लागेको आरोप लगाए ।
सहमतिको फेरामा लागे ८ माघमा संविधान नआउने भन्दै उनले संविधान निर्माणका लागि विवादित विषयहरुलाई प्रक्रियामा लगेर टुंगोमा पु¥याउनु पर्नेमा जोड दिए ।
संघीयता र धर्म निरपेक्षताको विषयमा भने जनमतसंग्रह गर्नु पर्ने खड्का जिकिर थियो ।
संघीयता र धर्म निरपेक्षताको विरोध
खड्काले धर्म निरपेक्षता सहितको संविधान जारी गरे भोली पल्टै राजधानीको शान्तिबाटीकामा जलाउने चेतावनी समेत दिएका छन् ।
उनले धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै अब बस्ने नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघीयता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने बताए ।
नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए आगामी केही वर्षभिभत्रै मुलुक धार्मिक द्वन्द्वमा फस्ने उनको दाबी थियो ।
खड्काले आफू संघीयताको पक्षपाती नभएको स्पष्ट पार्दै संघीयताले मुलुकको हित नगर्ने समेत दाबी गरेका थिए ।
संघीयतामा जानै पर्ने भए अहिलेको पाँच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर जानु पर्ने भन्दै खड्काले जातीय आधारको संघीयतामा गए मुलुक विभाजित हुने दावी गरे ।
वर्तमान सरकारले अहिलेसम्म कुनै पनि गतिलो काम गर्न नसकेको आरोप लगाउँदै खड्काले यस्तै गतिमा अघिबढीरहे कांग्रेसको अस्तित्व नै समाप्त हुने बताए ।
“यो सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल ल्याउनु बाहेक कुनै काम गर्न सकेको छैन,” उनले भने ।
