समाचारशनिबार, भाद्र २८, २०७१
व्यक्तिको होइन, संस्थाको मान्छे बन्नुस्ः कोइराला
हालै पोखरामा सम्पन्न नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई बधाई दिने क्रममा प्रधानमन्त्री कोइरालाले कुनै गुट उपगुटका पछाडि नलागी पत्रकारिताको सिद्धान्त र पार्टीको विचारप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन् ।
आफ्नो पार्टी नेपाली कांग्रेस एक भएर पनि दुई पार्टी जस्तो देखिएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मा अब युवा वर्गको काँधमा आएको बताए ।
कोइरालाले भने, “कांग्रेस विचार र सिद्धान्तका आधारमा सम्पन्न पार्टी हो, यसको भविष्य सधँै उज्ज्वल रहेको छ । यसलाई जोगाउने अभिभारा अब तपाइँहरुजस्ता युवाको हो ।”
फरक प्रसङ्गमा प्रधानमन्त्री कोइरालाले तोकिएको समयमा लोकतान्त्रिक संविधान बन्ने आशा व्यक्त गर्दै त्यसको तयारीका लागि सर्वपक्षीय राष्ट्रिय भेलाको समयसमेत तोकेर संविधानसभा बाहिर रहेका दलहरुलाई पनि सहमतिमा ल्याइने बताए ।
कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनलाई गुट उपगुट नभएर एकढिक्का बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक संविधान निर्माणमा सञ्चारमाध्यममार्फत सहयोग गर्ने बताएका थिए ।
