समाचारशनिबार, भाद्र २८, २०७१
कोष्टारिकामा पक्राउ परेका नेपाली चाँडै छुट्ने
परराष्ट्र मन्त्रालयका अनुसार कोष्टारिकामा पक्राउ परेका नेपाली सम्भवतः आजै छुट्न सक्ने जनाइएको छ ।
मन्त्रालयले २८ भदौमा एक विज्ञप्ति प्रकाशित गरी कोस्टारिकामा समातिएका नेपाली नागरिकको अवस्था बुझी खबर गर्न र उनीहरुको रिहाइका लागि पहल गर्न कोष्टारिकाको सान होसेमा रहेको अवैतनिक वाणिज्यदूतसँग सम्पर्क गरी जानकारी माग गरिएको जनाएको छ ।
अवैधानिक रुपमा अमेरिका जाने क्रममा रहेका ३४ जना नेपाली कोष्टारिकामा समातिएका थिए ।
उनीहरुलाई स्थानीय अवैतनिक वाणिज्यदूतले भेट गरी खानपिनलगायतका सुविधा उपलब्ध गराएको जानकारी प्राप्त भएको परराष्ट्रले जनाएको छ ।
नेपाली पक्राउ परेको स्थान कोष्टारिकाको दक्षिणी क्षेत्रमा रहेका कारण प्रत्यक्ष सम्पर्क गर्न नसकिएकोले स्थानीय अधिकारीहरुसँग प्रत्यक्ष सम्पर्क कायम गरिएको बताइएको छ ।

