समाचारशनिबार, भाद्र २८, २०७१
एमाओवादी उपाध्यक्ष बोगटीको अवस्था गम्भीर
२६ भदौ राति मस्तिष्काघात र हृदयाघात समेत भएपछि अस्पताल भर्ना गरिएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्यस्थितिमा सुधार आउन सकेको छैन । उनलाई गंगालाल हृदय केन्द्रमा मुटुको शल्यक्रियापछि थप उपचारका थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
बोगटीको उपचारमा संलग्न चिकित्सक यादवदेव भट्टका अनुसार मस्तिष्काघात र हृदयाघात एकै पटक भएका कारण स्थिति गम्भीर रहेकाले मस्तिष्कको शल्यक्रिया गर्न जटिल छ ।
हृदयाघातमा सुधार आए पनि मस्तिष्काघातका कारण बोगटीको अवस्था गम्भीर देखिएको भट्टले बताए । मस्तिष्कको बायाँ भागमा रगत जमेका कारण पक्षाघातको अवस्थामा पुगेको बताइएको छ ।
नर्भिकमा वरिष्ठ स्नायुरोग विशेषज्ञ वसन्त पन्त, मस्तिष्करोग विशेषज्ञ पङ्कज जलान, यादवदेव भट्टलगायतको टोलीले एमाओवादी नेताहरुसँग २८ भदौ रातभरको अवस्था अध्ययन गरेपछि मात्रै विदेश लैजाने वा अन्य उपचार पद्धति अपनाउने भन्ने विषयमा निधो गर्ने बताएको एमाओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।
नेता बोगटीको स्वास्थ्य अवस्था बुझ्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र महासचिव कृष्णबहादुर महरा, नेकपा एमालेका नेता भरतमोहन अधिकारी, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलगायत विभिन्न पार्टीका नेता नर्भिक अस्पताल पुगेका थिए ।
