थप समाचारआइतबार, भाद्र २९, २०७१
तुइन जिन्दगी (तस्वीरसहित)
दुई वर्षअघि त्रिशुली पारी रहेको विद्यालय जान रविन्द्र तुईन चढे तर, जीर्ण भइसकेको तुइनको तार चुँडियो, झोलासहित त्रिशुलीमा खसे । धन्य, पौडिन जानेकाले ज्यान बाँच्यो, किताब–कापी जम्मै त्रिशुलीले बगायो । निथ्रुक्कै भएर स्कुल पुगे ।
त्यो घटनाबाट त्रसित १५ बर्षीय रविन्द्रका लागि फेरि पनि तुईन चढ्नु पर्ने बाध्यता भने छँदैछ ।
रविन्द्र मात्र होइन, धादिङ जिल्लाको कुम्पुर– ४ खरमटारका सबै विद्यार्थीहरुलाई विद्यालय जान यही तुईनको सहारा नलिई धरै छैन ।
तुइनबाट त्रिशुली तर्दा मानिसहरु नदीमा खसेका धेरै घटना भए पनि यो तुईनबाट खसेर अहिलेसम्म कसैको ज्यान भने गएको छैन । तर विद्यार्थीका किताब–कापी, जुत्ता–चप्पल भने सँधै जसो बगिरहेका हुन्छन् ।
२०६० सालमा प्राक्टिकल एक्सनको सहयोगमा निर्माण भएको धादिङको गजुरी गाविस–२ को चाम्वास र कुम्पुर–४ को खरमटार जोड्ने त्रिशुली नदिमाथिको तुईन जिर्ण भएको धेरै भइसक्यो ।
तुइनका लठ्ठा नुहेका छन्, तार झोलिएको छ, नदीमा बाढी आएका बेला तुइन (कोर्के) ले नदी छुन्छ ।
तुइन मर्मत सम्भारका लागि विभिन्न निकायमा पटक पटक आग्रह गर्दा पनि बेवास्ता भएको स्थानीय हरि नेपाल बताउँछन् ।
तुइन तर्ने क्रममा धेरैका औंला चुँडिएका छन् । हातमा चोट लाग्नु त सामान्य भइसकेको छ ।
हात घिर्निमा परेपछि ६६ बर्षीय तेजबहादुर लामिछानेको औंला चुँडिएको छ । ६४ बर्षका युद्धबहादुर मगरको पनि हातको कान्छी औंला तुइनले खाइदियो ।
नियमित विद्यालय जाने खरमटारका विद्यार्थीको हालत पनि उस्तै छ ।
एक वर्षअघि तुइन तर्दा च्याँपिएकोे छात्रा सुदिक्षा नेपालको हातले अहिलेसम्म राम्रो काम गर्दैन ।
“वारी घर, पारी विद्यालय, तुईन नतर्ने हो भने झोलुङ्गे पुल भेट्न दुई घण्टा थप हिंड्नु पर्छ,” आदर्श उमावि गजुरीमा कक्षा ७ मा पढ्ने सुदिक्षाले भनिन् ।
घर नजिकै रहेको तुईन तर्ने वित्तिकै बस चढेर विद्यालय जान सजिलो हुने भएकाले विद्यार्थीहरु जोखिम मोलेरै भएपनि तुइनबाटै त्रिशुली पार गर्छन् ।
खरमटारबाट दैनिक ६० ७० स्कुले विद्यार्थी यही तुईनबाट त्रिशुली वारपार गर्छन् । स्थानीयबासी बजारसम्म पुग्ने माध्यम पनि यही तुइन हो ।
“हाम्रो त सास नै तुइनमा अड्केको छ, जीर्ण तुइन चुँडिएपछि के होला सम्झन पनि मन लाग्दैन,” गजुरी बजारमा ब्युटिसियन तालिम लिंदै गरेकी सरस्वती कोइरालाले भनिन् ।
सानुबाबु तिमिल्सिना, धादिङ
