समाचारसोमबार, भाद्र ३०, २०७१
एमाओवादी नेता बोगटीको निधन
मस्तिष्कघात र हृदयघातले पीडित एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको ३० भदौ बिहान उपचारका क्रममा निधन भएको छ । २७ भदौ राति हृदयघात भएपछि उनको गंगालाल हृदयकेन्द्र बाँसबारी काठमाडौंमा शल्यक्रिया गरिएको थियो ।
मुटुको शल्यक्रिया सफल भए पनि मस्तिष्कघात समेत भएकाले बोगटीलाई थप उपचारका लागि २८ भदौमा थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो ।
नुवाकोट–३ बाट संविधानसभामा प्रत्यक्षतर्फ विजयी संविधानसभा सदस्य समेत रहेका बोगटी बाबुराम भट्टराई नेतृत्वको सरकारमा उर्जामन्त्री भएका थिए ।
३ साउन २०१० मा नुवाकोटको तुप्चेमा जन्मेका बोगटी २०५२ सालमा ‘जनयुद्ध’ थालनीसँगै आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर स–परिवार भूमिगत भएका थिए ।
८ कक्षा सम्म मात्र औपचारिक शिक्षा हासिल गरेका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिन्थे ।
उनका छोरा रवि वोगटीको विद्रोहकै क्रममा हत्या भएको थियो।
पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका उनी केही समय नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागीरे पनि थिए ।
उनका श्रीमती र दुई छोरी छन् ।
सम्बन्धित समाचारः
एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात
