समाचारबुधबार, आश्विन १७, २०६९
दलहरु आ–आफ्नै अडानमा, सहमति खोज्ने सहमति
विघटित संविधान सभामा प्रतिनिधित्व गरेका ३३ दल सहभागी बैठकमा संविधानसभाको नयाँ निर्वाचन, राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा सहमति जुटाउन बैठकलाई जारी राख्ने सहमति भने भएको छ ।
बैठकमा एनेकपा माओवादीसहितका सत्तासाझेदार दलले वर्तमान सरकारकै नेतृत्वलाई राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिई निर्वाचनमा जाने प्रस्ताव गरे भने नेपाली काँग्रेस, एमालेलगायतका विपक्षी दलहरुले वर्तमान सरकारले राजीनामा नगर्दासम्म सहमति नहुने अडान राखे । त्यस्तै बैठकमा संविधानसभाको नयाँ निर्वाचनका पक्षमा र संविधानसभाको पुनःस्थापनाको पक्षमा पनि दलहरु ध्रुबिकृत देखिए ।
साना दलहरुले मधेशी मोर्चा र तीन ठूला दलहरु मिलेर सिण्डिकेट चलाएको र अबका वार्ता र निर्णयहरुमा आफूहरुलाई पनि सहभागी गराउनु पर्ने पुरानै माग दोहो¥याए । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले नयाँ निर्वाचनका लागि संविधान संशोधन गर्न पनि संविधान सभाको पुनःस्थापना हुनुपर्ने आफ्नो रटान छोडेनन् ।
बैठकपछि एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले सबै विषयमा बैठकमा एकसरो कुरा सुन्ने काम भएको जानकारी दिँदै छलफलमा सहभागी दलहरूले प्रमुख तीन दल र मधेशी मोर्चाले एकमुष्ठ रूपमा गर्ने सहमति नै आफूहरूलाई मान्य हुने धारणा राखेको वताए । उनको भनाईले फेरि पनि चार राजनीतिक शक्तिबीच सहमतिका नाममा केही चरणका वार्ता हुने सजिलै बुझियो । त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले पनि छलफललाई जारी राख्ने र असोज मसान्तभित्रै देशलाई राजनीतिक निकास दिने दाबी गरे ।
नेकपा–माओवादीले अर्को निर्वाचनबाट गठित संविधान सभाले संविधान निर्माण गर्छ भन्ने ग्यारेण्टी नभएको भन्दै गोलमेच सम्मेलनबाट निकास निकाल्नु पर्ने फरक विचार राख्यो ।
राजनीतिक र संवैधानिक संकटको समाधानका लागि सहमतिमा पुग्नुपर्ने दलहरु मोर्चाबन्दीमा लागेपछि १४ असोजमा राष्ट्रपति रामवरण यादवले दलहरुलाई स्पष्ट शब्दमा सक्दो चाँडो सहमति गर्न दवाब दिएका थिए । त्यही दवाबकै फलस्वरुप मोर्चाबन्दीमा लागेका दलहरुलाई वार्ता गर्न वाध्य बनाएको हो । तर शिर्ष दलका नेताहरु नै यी बैठकहरुबाट कुनै निकास आउला भन्नेमा विश्वस्त देखिंदैनन् ।
दलहरुबीच छलफल र वार्ता भइरहँदा सरकारलाई वार्ताका नाममा विपक्षीहरुलाई अलमल्याउने बाहना भेटिएको छ भने आन्दोलनमा जाने निर्णय गरेर पनि कार्यक्रम घोषणा गर्न नसकेका विपक्षी दलहरुलाई केही सुविधा पुगेको छ ।
अबको दुई हप्तामै दशैं शुरु हुन्छ । दशैंको पारो चढ्दै जाँदा वार्ता र छलफलका शृंखला हराउँदै जानेछन् भने आन्दोलन गर्ने विपक्षीहरुको मनस्थितिको पारो पनि ह्वात्तै घटने विश्लेषकहरु बताउँछन् । यस्तै स्थिति रह्यो भने महंगी, अशान्ति र असुरक्षाले आक्रान्त नेपालीहरुले गञ्जागोलपूर्ण परिवेशमै दशैं मनाउने छन् ।
