समाचारबुधबार, आश्विन १७, २०६९
मनाङमा मोटर पुग्यो
मनाङ सदरमुकाममा मोटर पुग्यो
वेसीशहर–चामे सडक अन्तर्गत सडकको निर्माणकार्य सकिएपछि परीक्षणका लागि चामेसम्म मोटर लगिएको सेनाले जनाएको छ । सडक निर्माण कार्यगणका प्रमुख ईन्जिनियर ईन्दिबर गुरुङले वेसीशहरवाट गएको जीप मनाङ सदरमुकाम चामेको नमस्ते गेटसम्म पुगेको वताउनुभयो ।
१९ बर्षदेखि निर्माण जारी वेसीशहर–चामे सडक अन्तर्गत मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि स्थानीयवासिन्दा हर्षित भएका छन् । चामेसम्म मोटर पुगे पनि सुरक्षाको कारण देखाउँदै च्यामेभन्दा माथि अन्य सवारी साधनलाई जान दिईएको छ्रैन ।
दुईहप्ताभित्रै सडकको औपचारिक उद्घाटन गर्ने तयारी भईरहेको नेपाली सेनाले जनाएको छ । उद्घाटनको तयारीसंगै सेनाले यतिवेला वेसीशहरको पुमाखोलादेखि मनाङको धारापानी, चामे, लमजुङको ताघ्रिङ गाविसका विभिन्न ठाउँहरुमा सडकको मर्मत पनि गरिरहेको छ ।
१९ बर्ष अघि २०५१ सालमा सडक विभागले निर्माण शुरु गरेको सडक २०५७ सालबाट नेपाली सेनाले जिम्मा लिएको हो । सडक विभागले १७ बर्ष अघि गरेको प्रारम्भिक सर्भेमा मनाङलाई सडक सञ्जालले जोड्न १ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरेकोमा हालसम्म ७६ करोड रुपैँया मात्र खर्च भएको नेपाली सेनाले जनाएको छ । युवराज श्रेष्ठ, लमजुङ
