थप समाचारमंगलबार, भाद्र ३१, २०७१
हातहतियारसहित तीन लुटेरा पक्राउ
महोत्तरीको गौशाला–८ स्थित मरहाखोला किनारबाट नलकटुवा पेस्तोल, खुकुरी र अन्य घरेलु हतियारसहित तीन जना लुटेरालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश सुवेदीले जानकारी दिएका छन् ।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेकाले पक्राउ परेकाको नाम नखुलाइएको सुवेदीले बताए ।
३० भदौ राति करिब ८ बजे गौशालाबजारबाट ज.३ प २४५८ र ज.२प २१३९ नम्बरको मोटरसाइकलमा महोत्तरी भरतपुर–९ बस्ने ईश्वर मगर, सचित सिंह र सर्लाहीको गौरीशङ्कर–४ बस्ने भीमबहादुर बस्नेत घर गइरहेको बेला गौशाला–८ स्थित मरहा खोला तर्ने बेलामा हातहतियारसहित ढुकेर बसेका पाँचजनाले उनीहरूमाथि आक्रमण गरेर लुटपाट गरेका थिए ।
लुटेराले उनीहरूलाई पहिला मोटरसाइकलमा लाट्ठी प्रहार गरी रोकेर पछि हतियार देखाउँदै उनीहरूसँग भएको दुईवटा झोला, चारवटा मोबाइल लुटपाट गरेको प्रहरी निरीक्षक सुवेदीले बताए ।
लुटेराले ईश्वर मगरलाई घाँटीनजिकै खुकुरीसमेत प्रहार गरी गम्भीर घाइते बनाएका छन् । उनको उपचार गौशालास्थित नवीन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । सचित सिंह र भीमबहादुर बस्नेत लुटेराको कुटाइबाट सामान्य घाइते भएका छन् ।
लुटिएपछि इलाका प्रहरी कार्यालय गौशालामा पीडितले जानकारी गराएलगत्तै परिचालित प्रहरीले तीन जना लुटेरा पक्राउ गरेको हो ।
