समाचारमंगलबार, भाद्र ३१, २०७१
क्यासिनो हिजो माओवादीको अखाडा थियोः मन्त्री बस्नेत
३१ भदौमा रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै उद्योगमन्त्री महेश बस्नेतले क्यासिनो मुलुकमा पर्यटन भित्र्याउने आधार भएको भन्दै बन्द क्यासिनो सञ्चालनका लागि आफूले पहल गर्ने बताएका छन् ।
मन्त्री बस्नेतले भने, “हिजोको दिनमा क्यासिनो माओवादीहरुको क्यान्टोनमेन्टका रुपमा स्थापित भएको थियो, उनीहरुले सबै ठाउँ बर्बाद पारे ।”
आगामी दिनमा मजदुर तथा क्यासिनो सञ्चालकहरुसँग छलफल गरी क्यासिनोलाई उद्योगका रुपमा स्थापित गर्न आफू प्रतिवद्ध रहेको बस्नेतले बताए ।
यद्दपी क्यासिनोले सरकारलाई रोयल्टी बुझाउनै पर्ने र नेपालीलाई प्रवेश नदिने विषयमा गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।
‘तीन महिना दिनुस’
उनले उद्योग मन्त्रीका रुपमा आफूले काम गरेर देखाउनका लागि तीन महिनाको समय मागेका छन् ।
रुग्ण उद्योग सञ्चालनका लागि तत्काल कार्य योजना ल्याउने तयारीमा आफू लागेको भन्दै उनले तीन महिना समय दिन आग्रह गरेका हुन् ।
बस्नेतले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरेर दिनहुँ विदेशीने यूवा शक्तिलाई रोक्न आफूले औद्योगिक क्रान्तिको खाका तयार पारिरहेको दाबी गरे ।
उनले क्रसर व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको तर, चुरे क्षेत्रको दोहन भने रोक्नुपर्ने बताएका थिए ।
