समाचारबुधबार, आश्विन १, २०७१
स्याङ्जामा शिक्षक–प्रहरी झडप, अश्रुग्याँस प्रहार
जनता उमावि ठूलाडिही, स्याङ्जाका प्रधानाध्यापक खुम रानालाई हटाएर चिरञ्जिवी लम्साललाई प्रधानाध्यापक बनाइएपछि विरोधमा ज्ञापनपत्र बुझाउन जिल्ला शिक्षा कार्यालय पुगेका शिक्षक, अभिभाव र विद्यार्थीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छ ।
३१ भदौमा भएको उक्त झडपमा शिक्षक, विद्यार्थी र अभिभावक गरी १० भन्दा बढी घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सल्लाहाकार सीमा क्षेत्री, शिक्षकहरु लोकराज खनाल, रवि विक्रम केसी, नविन आलेलगायत र विद्यार्थी–अभिभावकसमेत घाइते भएका छन् ।
टाउकोमा चोट लागेका लोकराज खनाललाई स्याङजामा उपचार हुन नसकेपछि पोखरा लगिएको छ ।
त्यस्तै प्रहरीले करिब ३० जनालाई पक्राउ गरेको छ ।
यसअघि पनि पटकपटक धर्ना दिन पुगेका शिक्षक, अभिभावक र विद्यार्थिको माग सुनुवाइ नभएपछि नारा जुलुश गर्दै ज्ञापन पत्र बुझाउन गएका उनीहरुलाई प्रहरीले लाठी चार्ज गरेको थियो ।
ज्ञापनपत्र बुझाउन गएकाहरुलाई जिल्ला शिक्षा कार्यालयको गेट बाहिरै रोकिएपछि विवाद बढेको थियो ।
मिलन जीसी, स्याङ्जा


