रिपोर्टबुधबार, आश्विन १, २०७१
चारबिसे तन्नेरी
–डम्बरकृष्ण श्रेष्ठ
औसत आयु ६९ वर्ष रहेको नेपाली समाजमा ८० वर्षमाथि क्रियाशील हुनेको संख्या बढ्दो छ ।
जब पुग्यो साठी – हातमा लाठी
जब पुग्यो सत्तरी – हिंड्न लाग्यो लत्तरी
जब पुग्यो असी – कुनामा बसी
जब पुग्यो नब्बे – हब्बे न कब्बे
जब पुग्यो सय – यमराजको भय
१९९४ सालमा बालकृष्ण समले लेखेको नाटक मुकुन्द–इन्दिरा को यो बुढ्यौली बयान आज पूरै अमिल्दो भइसकेको छ। आठ दशकअघिको रोग, भोक र अशिक्षाग्रस्त समयमा ६० वर्ष कटाउनु ठूलै कुरा हुन्थ्यो। अहिले भने नेपालीको औसत आयु नै ७० पुग्ने तरखरमा छ र ७५ काटेर पनि सक्रिय जीवन बाँचिरहेका ‘चार बीसे तन्नेरी’ हरूको संख्या मनग्ये बढेको छ। “पहिले ८०/८५ वर्ष बाँच्नु ठूलो कुरा मानिन्थ्यो, अहिले यस्ता दीर्घजीवीहरूको संख्या बढ्दो छ”, राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका पत्रकार राजेन्द्र दाहाल भन्छन्, “चर्चा भने ‘क्वालिटी लाइफ’ बाँच्नेहरूको मात्र हुने गरेको छ, जुन अस्वाभाविक होइन।”
हुन पनि, ८० देखि १०५ वर्षसम्मका नेपालीको सक्रियताले ‘जब पुग्यो साठी– हातमा लाठी’ होइन, ‘तन बूढो भए पनि मन बूढो हुँदैन’ भन्ने भनाइलाई सत्य सावित गरेको छ। भदौ दोस्रो साता हिमाल ले भेट्दा काठमाडौं बानेश्वरका गणेशबहादुर श्रेष्ठ (१०५) बरण्डामा बसेर भकाभक मकै छोडाइरहेका थिए। चन्द्रशमशेर राणाको पालामा जन्मेर प्रजातन्त्रदेखि पञ्चायत, लोकतन्त्र र गणतन्त्रसम्मका शासन व्यवस्थाको चर्तिकला हेरेका उनले भने, “सुतेर बस्ने, ठगेर खानेहरूको काम छैन, त्यसरी धेरै बाँचिंदैन पनि।” शरीरमा फुर्ती र मनमा जोश भएका श्रेष्ठको स्वरमा पनि उस्तै दम छ।
चलनचल्तीको भाषामा वृद्धवृद्धा भनिने मानिसहरूको उर्वर सक्रियताको अध्ययन गर्दा सन्तुलित आहार–विहारसँगै तीव्र इच्छाशक्तिका साथ केही न केही काममा व्यस्त रहनेहरू दीर्घजीवी हुने पाइएको छ। जस्तो, संस्कृतिविद् सत्यमोहन जोशी ९६ वर्षको उमेरमा पनि बेफुर्सदिला छन्। डिल नसमाई भर्याङ चढ्ने उनी यो उमेरमा पनि सार्वजनिक यातायात चढ्छन्। मनमा निराशालाई ठाउँ नदिई केही न केही काममा सक्रिय हुँदा इच्छाशक्ति र उमेर दुवै बढ्ने उनको अनुभव छ। यसैगरी, ८५ वर्षको उमेरमा पनि चाहेको ठाउँमा ठमठमी हिंडेर पुग्ने पत्रकार भैरव रिसाल बुढेसकालमा सक्रियता भएन भने मान्छेलाई बाँच्नै मुश्किल पर्ने बताउँछन्। “जीवन आफैंमा उपलब्धि हो भन्ने बुझेर नचल्ने हो भने मानिसले बाँच्नै बिर्सन्छ”, २०१३ सालदेखिको पत्रकारितालाई अझै जारी राखेका रिसाल भन्छन्।
बढ्दो सक्रिय वरिष्ठ
नेपाल सरकारले वृद्ध अवस्था प्रवेशको उमेर ६० वर्ष तोकेको छ। यो मापदण्ड अनुसार २०४८ सालमा वृद्धावस्था प्रवेश गरेका नेपालीको संख्या १० लाख ७१ हजार थियो। २०५८ सालको राष्ट्रिय जनगणनामा यो संख्या करीब १५ लाख पुग्यो भने २०६८ को कुल दुई करोड ६४ लाख ९४ हजार जनसंख्यामा २३ लाख ५१ हजार (९.१ प्रतिशत) ६० वर्षमाथिका देखिए। यो वृद्धिदरले आउँदो दुई दशकमा ६० वर्षमाथिका नेपालीको संख्या दोब्बर अर्थात् ४७ लाखभन्दा धेरै हुने देखाउँछ।
दुई वर्षअघि २०१२ मा पाराग्वेमा भएको ‘ग्लोबल कन्फ्रेन्स अन एजिङ’ ले विभिन्न सूचकाङ्कहरूको विश्लेषण गर्दै विश्वभर बूढाबूढीको संख्या तीव्र रूपमा बढिरहेको निर्क्योल गरेको थियो। संयुक्त राष्ट्रसंघको एक अध्ययनले विकसित मुलुकहरूमा यो वर्ष (२०१४) भित्र जन्मने दुईमध्ये एक बच्चा १०४ वर्षसम्म बाँच्ने अनुमान गरेको छ। पछिल्ला दशकहरूमा सम्भव भएको पोषण र स्वास्थ्य सुविधाले नेपालीको औसत आयु पनि बढेको छ। राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार सन् १९६० मा ३८.२२ वर्ष रहेको नेपालीको औसत आयु २०१४ मा ६९ वर्ष पुगेको छ। नेपालमा ५५ वर्ष अघि शुरू भएको परिवार नियोजनको सकारात्मक असर नेपालीको उमेर आँकडामा देखिन बाँकी नै छ।
जापानमा सरकारी सेवाबाट निवृत्त हुने उमेर ६५ देखि ६९ वर्ष छ भने धेरैजसो पश्चिमा मुलुकहरूमा ६५/६७ वर्ष। विकसित देशहरूका वृद्धवृद्धामा निरोगीपन बढी छ। ती मुलुकहरूले दीर्घरोग लागेका वृद्धवृद्धाको उपचारका लागि सरकारी सुविधाको व्यवस्था गरेका छन्। अमेरिकाले ६५ र जर्मनीले ६७ वर्षपछिको उमेरलाई बुढेसकाल मानेको छ। बूढाबूढीको संख्या बढ्दै गएपछि फ्रान्सले पनि अवकाश पाउने उमेर ६५ बाट ६७ वर्ष पुर्याउँदैछ। नेपाल सरकारले ५८ वर्षलाई नै कर्मचारीको अवकाश उमेर मानेर त्यसपछिको ४० वर्ष विना काम पेन्सनले पाल्ने नीति लिएको छ। औसत आयु ६९ पुग्दा वरिष्ठ नागरिकहरूको उपचार प्रबन्ध पनि छैन। “५८ वर्षमै अवकाश पाउँदा अब मेरो दिन सकियो भनेर लत्तो छाड्नेहरू धेरै छन्”, पत्रकार राजेन्द्र दाहाल भन्छन्, “धेरैजसोसँग केही गर्ने योजना पनि हुँदैन, तिनैलाई अल्जाइमर, डाइमेन्सिया जस्ता रोगले सताएको छ।”
मानिसलाई दीर्घजीवी भने पोषण र स्वास्थ्य सुविधासँगै परिश्रमी जीवनशैलीले बनाउने जापानीहरूको अनुभवले प्रमाणित गरेको छ। प्रचूर पोषण र स्वास्थ्य सुविधा भएका देशका बासिन्दामध्ये जापानीहरू सबभन्दा दीर्घजीवी देखिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सन् २०१२ को अध्ययन अनुसार, जापानी महिलाको औसत आयु ८६ वर्ष र पुरुषको ८० वर्ष छ। विश्वमा यो नै सबैभन्दा बढी औसत आयु हो। ५० वर्षयता युरोप–अमेरिकामा पनि औसत आयु ८० वर्ष हाराहारीमा पुगेको छ। ६ दशकको पत्रकारितापछि गत असारमा फर्च्युन म्यागजिनको सम्पादकबाट अवकाश लिएकी अमेरिकाकी ८५ वर्षीया क्यारोल लुमिस पश्चिमा विश्वमा बढ्दो उमेर उर्वर सक्रियताको उदाहरण हुन्।
लोभलाग्दो सक्रियता
पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापा र नेपाल राष्ट्र ब्याङ्कका प्रथम गभर्नर हिमालयशमशेर जबरा सम्धी–सम्धी हुन्। दुवै जना ८७ मा छन् र दुवैको सक्रियता–व्यस्तता लोभलाग्दो छ। थापाको दैनिकीलाई स्वाभाविक रूपमा राजनीति र जबरालाई अर्थनीतिले व्यस्त बनाइरहेको छ। संविधानसभाको जेष्ठ सभासद् भएको अवस्थाले पनि थापाको राजनीतिक व्यस्तता बढाएको छ। हिमालयन ब्याङ्कका संस्थापक अध्यक्ष जबरा अहिलेको ‘रिटायर्ड लाइफ’ मा समाजसेवा र गल्फ खेलको तिर्खा मेटाइरहेका छन्। उनी साताको तीन दिन गोकर्ण गल्फ कोर्समा डटिरहेका हुन्छन्।
देशका ‘आइकन’हरू संस्कृतिविद् जोशी, राष्ट्रकवि माधव घिमिरे (९५) र संगीतकार अम्बर गुरुङ (७७) को जोश–जाँगरले पनि धेरैलाई आश्चर्यचकित बनाउँछ। यो उमेरमा पनि उनीहरूको निजी दैनिकी र सार्वजनिक सहभागिता भ्याई–नभ्याई छ। उनीहरू आ–आफ्नो क्षेत्रको प्रज्ञा तथा स्मरणशक्तिका साथ दैनिक एकपछि अर्को कार्यक्रमहरूमा सशरीर उपस्थित भएर प्रसंग अनुसारको ज्ञान हस्तान्तरण गरिरहेका छन्। मानिसले चाहे उमेर छेकवार हुँदैन भन्ने प्रमाणित गरेका छन्, उनीहरूले। घर–परिवारदेखि समाज तथा राष्ट्रिय तहसम्मका लागि ज्ञान–अनुभवका भण्डार बनेका यस्ता बडे नागरिकहरूको संख्या देशमा बढ्दै गएको छ।
जस्तो, गत ३१ साउनमा राजधानीमा आयोजित एक समारोहमा ९७ वर्षे पूर्व शिक्षक ईश्वरी पोखरेलले लेखेको पुस्तक ‘जीवन एक भोगाइ अनेक’ को सामूहिक विमोचन गर्नेमा संस्कृतिविद् जोशी र पत्रकार रिसालदेखि पोखरेल पत्नी चोककुमारी (९२), इन्द्रमणि पोखरेल (९९) र लक्ष्मी रेग्मी (९७) सम्म थिए। चारबिसे पुग्न लागेका र नाघेका कमलमणि दीक्षित, मदनमणि दीक्षित, वैरागी काइँला, बिहारीकृष्ण श्रेष्ठ, तीर्थबहादुर श्रेष्ठ आदिको साहित्यिक र सामाजिक सक्रियता लोभलाग्दो छ। शहरको बौद्धिक कसरतमा मात्र होइन, खेती–किसानी र श्रमको क्षेत्रमा पनि शताब्दी गुजार्न लागेकाहरू थुप्रै छन्। जस्तो, सुदूरपश्चिम कञ्चनपुरकी शोभा ढुङ्गाना (७८) को किसान जोश कत्ति पनि घटेको छैन। लक्ष्मीपुर–६ की ढुङ्गाना यो उमेरमा पनि चूलो–चौकादेखि खेतसम्म व्यस्त हुन्छिन्। काम र सन्तुष्टिले स्वस्थ बनाउने बताउँदै उनी भन्छिन्, “मेरा बूढा ८४ दान गरेपछि बित्नुभयो, म चाहिं त्योभन्दा धेरै नै बाँच्छु जस्तो लाग्छ।”
पूर्वमा झापाका बुधु राजवंशी १७ साउनमा शनिश्चरे बजारमा ४० केजीका चामलका बोरा रिक्सामा लोड गरिरहेका भेटिए। कुनै बेला धान मीलमा क्वीन्टलका बोरा एक्लै टाउकोमा चढाउने उनी अहिले ८१ वर्षको उमेरमा रिक्साको पाइडल मारिरहेका छन्। उनले पाखुरीकै बलमा शनिश्चरे–१ मा घडेरी किनेर भुईंघर जोडे, चार सन्तान हुर्काए। ‘काम गर्दागर्दै मर्न पाऊँ, यो ज्यानले अर्काको भर पर्नु नपरोस्’ भन्ने राजवंशी हुन् या कञ्चनपुरकी ढुङ्गाना, यी वयोवृद्धहरूको कर्मबाट मुलुकको अर्थतन्त्रमा योगदान नपुगेको होला, तर उनीहरू आफ्नो समाजमा उदाहरणीय बनेका छन्।
उता, मोरङका धुरन्धर सिंह (८५) आफ्नै २१ कट्ठा जमीनको तरकारी खेतीले काम नपुगेर दुई बिघा खेत ठेक्कामा कमाउँछन्। काठमाडौंका डा. गौरीशंकरलाल दास (९०), विराटनगरका तोरेन्द्रमानसिंह प्रधान (८४), धरानका कृष्णप्रसाद श्रेष्ठ (८०), दाङका नारायणप्रसाद शर्मा (८४), नेपालगञ्जका पन्नालाल गुप्ता (८२) आदिको सामाजिक सक्रियता सबैका लागि उदाहरणीय छ।
वृद्धवृद्धाका हितमा क्रियाशील संस्था ‘एजिङ होम’ का अध्यक्ष कृष्णमुरारि गौतम (६१) आफ्नै पाखुरीले कमाउन छाडेपछि घरपरिवार र समाजले हेप्ने भएकोले पनि ६० काटेपछि आफैं उत्पादनमूलक भइराख्नुपर्ने बताउँछन्। उनका अनुसार, शारीरिक र मानसिक रूपमा आफूलाई सक्रिय राखे मात्रै लामो समय बाँच्न पनि सकिने भएकाले ‘अब बूढो भएँ, काम गर्दिनँ’ भन्ने सोच राख्नै हुँदैन। त्यसो त, नेपाली समाजमा बूढाबूढीले काम गर्दा पनि धर नदिने चलन छ। गौतम भन्छन्, “बूढा बाबुले हलो जोत्दा या केही काम गर्दा छोरालाई लाज हुन्छ। समाजमा ‘बाबुलाई यो उमेरमा पनि काममा दलाउँछौ’ या ‘बसिखाने उमेरमा पनि काममा जोतिने लोभी बूढा’ भन्ने गलत प्रवृत्ति हाबी छ।”
बेवास्तामा वृद्धवृद्धा
६० वर्षभन्दा माथिका मानिस संसारभर ‘वल्ड पर्सन’ मानिन्छन्। यो उमेर समूहको जीवनलाई सबभन्दा राम्रो पार्ने देशमा स्वीडेन पहिलो र नर्वे दोस्रोमा पर्छन्। वृद्धवृद्धाको अवस्था सबभन्दा गएगुज्रेको सूचीमा विश्वका ९१ देश छन्, जसमा ९१औं स्थानमा अफगानिस्तान र नेपाल ७७औं स्थानमा छ। राज्यले कानूनमै उल्लेख गरेको स्वास्थ्य सुविधा, सार्वजनिक यातायातमा शुल्क र सेवाप्रति समेत बेवास्ता गरेको भन्दै १९ महीनाअघिदेखि जेष्ठ नागरिकहरूले लामो समयदेखि आन्दोलन समेत गर्दै आएका छन्। संस्कृतिविद् जोशी नेपाल सरकारको सामाजिक सुरक्षा योजना र बूढाबूढीप्रतिको सामाजिक व्यवहार सन्तोषजनक नभएको बताउँछन्। सरकारले वृद्धवृद्धालाई मासिक रु.५०० दिएर राम्रो गरेको तर, त्यो अपर्याप्त भएको बताउँदै जोशी भन्छन्, “बूढाबूढीका लागि विदेशमा भएको व्यवस्थाको सिको गर्नुपर्छ।”
शिक्षासेवी अंगुरबाबा जोशी सरकारले वृद्धभत्ता बढाएर मासिक रु.३००० पुर्याए आफ्नै छोराछोरीबाट हेपिएका बाबुआमाले सामान्य दालभात खान पाउने बताउँछिन्। पूर्व गभर्नर राणाको विचारमा, वृद्धभत्तामा नेताहरूको ध्यान पुगेको छैन, अर्थात् देशका वरिष्ठ नागरिकहरू बेवास्तामा छन्। सरकारले अहिले बाँडिरहेको वृद्धभत्ता पनि गाउँका बूढाबूढीका लागि ठूलै कुरा भएको बताउने पूर्व प्रधानमन्त्री थापा राज्यले सबै कुरा गर्न नसकिरहेको अवस्थामा हरेक व्यक्तिले आफूलाई केही न केही काममा सक्रिय राखेर बुढ्यौलीलाई बोझ् हुन दिन नहुने बताउँछन्।
२०५२ को बजेटमा ७० वर्ष माथिका जेष्ठ नागरिकलाई रु.१०० भत्ता शुरू गर्ने अर्थमन्त्री भरतमोहन अधिकारी (७८) यही भत्ताको घोषणाबाट नेपालमा सामाजिक सुरक्षा अवधारणा शुरू भए पनि जेष्ठ नागरिकका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।
संयुक्त राष्ट्रसंघले सन् १९९१ मा ज्येष्ठ नागरिकका विशेष अधिकारका सिद्धान्तहरू स्थापित गरेको छ, तर नेपालमा यसबारे सरकार र समाजले समेत केही सोचेको छैन। एजिङ होमका अध्यक्ष गौतम लामो जीवन बाँचेका मानिसहरू समाज र देशका लागि उपयोगी भए पनि उनीहरूप्रति निष्ठुर व्यवहार भएको बताउँछन्। उनका अनुसार, वृद्धवृद्धा ज्ञान–अनुभवका भण्डार हुन्, तर न समाजले त्यसको प्रयोग गरेको छ न त वृद्धवृद्धाको हेरचाहमा राज्यले लगानी गरेको छ। “महिला, बालबालिका, दलित, जनजातिका लागि अनेक योजना छन्”, गौतम भन्छन्, “२५ लाख वृद्धवृद्धा लक्षित कुनै कार्यक्रम छैन, बूढाबूढीका लागि एउटा अस्पतालसम्म छैन।”
हुन पनि, अस्पतालहरूमा बाल, महिला वार्ड र विशेषज्ञ छन्, तर बूढाबूढीका लागि केही छैन। बूढाबूढी केयर सेन्टर र स्याहार्ने तालीम केन्द्र पनि छैनन्। बाबुआमा मरेपछि तिनको सम्पत्तिमा स्वतः छोराछोरीको हक लाग्छ, तर तिनै बाबुआमाको ख्याल नगर्ने मनोवृत्ति बढ्दो छ। छोराछोरीलाई बाबुआमाले अंश दिन्न भन्यो भने कानूनले दिलाउँछ, तर छोराछोरीले बाबुआमालाई हेरेन भने कुनै कानून लाग्दैन। शिक्षासेवी अंगुरबाबा जोशी अंश दाबी गर्न सघाउने कानूनले स्वार्थी छोराछोरीलाई निष्ठुरी बनाएको बताउँछिन्। एजिङ होमका अध्यक्ष गौतम भन्छन्, “श्रीमतीलाई घरबाट निकाले अंश दिनुपर्छ, बाबुआमालाई निकाले केही दिनुपर्दैन, उल्टै तिनले आर्जेको सम्पत्ति खान पाइन्छ।”
———————————————————————————————————————————————–
साप्ताहिक खबरपत्रिका हिमालबाट
साथमा तुफान न्यौपाने, गोपाल गडतौला झापा, सोहन श्रेष्ठ धरान, कमल रिमाल विराटनगर, माधव बराल पोखरा, बच्चु बिक धनगढी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
