समाचारबुधबार, आश्विन १, २०७१
संसदभन्दा माथि लोकमान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसहित अन्य अधिकारीसंग अख्तियारको काम कार्बाहीका सम्बन्धमा छलफल गर्न संसदको सुशासन तथा अनुगमन समितिले १ असोजमा डाकेको बैठकमा संचारकर्मीलाई प्रबेशमा रोक लगाइएको छ ।
यसअघि संसदको जुनसुकै समितिको बैठक संचारकर्मीका लागि खुल्ला हुने गथ्र्यो । तर बुधबारको बैठकमा संचारकर्मीलाई प्रबेश गर्न नदिएर अनुशासन समितिले अख्तियार प्रमुख कार्की संसदभन्दा माथि रहेको सन्देश दिएको छ ।
बिहान ८ बजे डाकिएको बैठकमा समितिका सभापति शेरधन राईको निर्देशनमा संचारकर्मीलाई बाहिर निकालिएको थियो । बैठकमा संचारकर्मीलाई रोक लगाउँदा संसद सचिबालयका महासचिब मनोहर भट्टराई लगायतका अधिकारीहरु भने अख्तियार प्रमुख कार्कीको स्वागतमा बैठक कक्षको ढोकामा बसेका थिए । सभापति राईको निर्देशनमा समितिका सचिब जीवराज बुढाथोकी र सहमर्यादा पालक हरिभक्त खड्काले संचारकर्मीहरुलाई बाहिर निकालेका थिए ।
समितिले आयोगको प्रगति बिबरण पेश गर्न अख्तियार प्रमुख कार्कीसहितका अधिकारीलाई बैठकमा बोलाएको थियो । बैठक कक्षमा प्रबेश गर्दै गर्दा कार्कीले महासचिब भट्टराईसंग आफू एक घण्टाभित्र हिडिसक्नु पर्ने भएकोले बैठक छिटो टुंग्याउँन निर्देशन दिएका थिए । समितिका सभापति राई अख्तियार प्रमुख कार्कीका सामु निरिह देखिएका थिए ।
बैठकमा समितिका सदस्य कांग्रेस सभासद् अर्जुननरसिं केसीले अख्तियारको सक्रियता देखिए पनि सुब्बा, खरदारमा केन्द्रीत भएको भन्दै माथिल्लो निकायमा पुग्न नसकेकोतर्फ अख्तियारको अधिकारीको ध्यानाकर्षण गराएको समितिका एक सदस्यले बताए । ती सदस्यका अनुसार नीतिगत भ्रष्टाचारमा अख्तियार मौन रहनुको पछाडि कतै राजनीतिक दबाब त छैन भन्ने प्रश्न गर्दै नेता केसीले अख्तियारलाई स्वतन्त्र र उत्तरदायी बनाउनु पर्नेमा जोड दिएका थिए ।
समितिको बैठकमा संचारकर्मीलाई प्रबेशमा रोक लगाइएकोबारे नेता केसीले अनभिज्ञता जनाए । सार्बजनिक सरोकारका बिषयमा भएको छलफलमा संचारकर्मीलाई रोक लगाउनु आपत्तिजनक भएको उनको प्रतिकृया छ ।

