समाचारबुधबार, आश्विन १, २०७१
एमाले बैठक स्थगनको जानकारी एसएमएसबाट
दशैं नजिकिएको कारण देखाउँदै एमालेले केन्द्रीय कमिटी बैठक स्थगित भएको जानकारी एसएमएसबाट गराइएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले बताए । उनले भने, ‘‘बैठक स्थगित भएको जानकारी मोबाइलको एसएमएसमा आएको छ ’’
स्थगित गरिएको बैठक दशैं, तिहार र छठ पर्व सकिएपछि १४ कात्तिकमा बोलाइएको केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले बताए । उनले हिमालखबरसँग भने, ‘‘पार्टी अध्यक्षले दुर्गम क्षेत्रका केन्द्रीय सदस्यलाई समस्या पर्ने हुँदा बैठक स्थगित गर्न महासचिवलाई निर्देशन दिनुभएको छ ।’’
ओलीको नियतमाथि प्रश्न
पछिल्लो निर्णयहरुमा पार्टी अध्यक्षको आलोचना भइरहेका बेला बैठक नै सारेपछि एमालेमा असन्तष्टि बढेको छ । धेरै केन्द्रीय सदस्यको असहमति हुँदाहुदै घटस्थापनाको भोलिपल्ट पर्नेगरी दोस्रो बैठकको मिति तय गर्नु र अहिले स्थगित गर्नुले पार्टी अध्यक्षको नियतमाथि प्रश्न उठेको केन्द्रीय सदस्य सुनुवारले बताए ।
उनले भने, ‘‘हामीले त्यतिबेलै यो मिति ठीक छैन भनेका थियौं, तर जबर्जस्ती पारित गरिएको यो मिति बैठक नगर्ने नियतबाटै आएको हो ।’’
सभासद मनोनयन, सुकुम्वासी आयोगका अध्यक्ष, संसदीय समितिका सभापति, मुख्य सचेतक, मन्त्रिपरिषद पुनःगठनलगायतका निर्णयमा पार्टी अध्यक्षले एक्लौटी गरेको भन्दै आलोचना हुँदै आएको छ ।
