थप समाचारबिहीबार, आश्विन २, २०७१

अर्धचेत अवस्थामा नन्दप्रसाद अधिकारी

हिमालखबर

छोरा कृष्णप्रसादका हत्यारालाई कार्वाहीको माग गर्दै लामो समयदेखि भोक हड्ताल गरिरहेका गंगामाया र नन्दप्रसाद अधिकारीमध्ये नन्दप्रसाद २ असोज विहान वीर अस्पतालमा अचेत भए ।

नशाबाट समेत औषधी लिन नमानिरहेका नन्दप्रसादलाई अचेत भएका बेला जाँघ नेरको नशा (फिमोरल भेन) बाट औषधी र प्रोटिन दिइएको छ । औषधी दिइएपछि अहिले उनको थोरै होस खुलेको र अवस्था विहानभन्दा सुध्रिंदै गएको वीर अस्पतालका निर्देशक डा. स्वयम् प्रकाश पण्डितले जानकारी दिए ।

उनका अनुसार अधिकारी दम्पती दुवैको शरीरका बाहिरी नशा सुकेकाले सामान्य सलाइन, ग्लुकोज पनि फिमोरल भेनबाट दिनु परेको छ । यसअघि उनीहरुलाई घाँटी नेरको नशा (सीभीपी) बाट औषधी दिइएको थियो तर , त्यहाँ संक्रमण भएकोले अहिले त्यो ठाउँबाट औषधी र पोषिलो झोल दिन सम्भव छैन ।

“बिहान नन्दप्रसाद अचेत भएपछि उहाँलाई अक्सिजन, सलाइन, ग्लुकोज र एण्टिबायोटिक लगायतका औषधी दिइएको छ, अहिले अवस्थामा सुधार आएको छ,” निर्देशक डा पण्डितले जानकारी दिए, “गंगामायाजीको अवस्था भने स्थिर छ, उहाँलाई पनि फिमोरल भेनबाट औषधी दिइरहेका छौं ।”

उनले शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालका विशेषज्ञ चिकित्सकको टोली अधिकारी दम्पतीको उपचारमा तैनात रहेको भन्दै थपे, “नन्दप्रसादजी औषधी दिन नशामा लगाइएका सिरिञ्ज, पाइप थुतेर फालिदिनुहुन्छ, त्यसैले उहाँका बारेमा यसै भन्न सकिने अवस्था छैन ।”

अचेत हुनुअघि नन्दप्रसाद न्याय नपाउने मुलुकमा आफू बाँचेर के गर्नु भन्दै कुनै पनि प्रकारको औषधी नलिने अडान राखेका थिए ।

गोरखा फुजेलका अधिकारी दम्पतीका छोरा १७ वर्षीय कृष्णप्रसादलाई माओवादीले अपहरण गरी २४ जेठ २०६१ मा चितवनको बकुलर चोकमा हत्या गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>