सिके राउतलाई विशेष अदालतमा लगियो
मधेशलाई नेपालबाट टुक्राउने अभियानमा सक्रिय सिके राउतलाई विशेष अदालतमा पेश गरिएको छ ।
२ असोजमा मोरङबाट विमानद्वारा काठमाडौं ल्याएइएका सिके राउतलाई विशेष अदालतमा पेश गरिएको छ । राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ अर्न्तगतका मुद्दा कारवाही र किनारा गर्ने अधिकार विशेष अदालतलाई छ ।
मोरङको रंगेलीमा मधेशलाई अलग्गै पार्ने अभियानबारे प्रशिक्षण दिन पुगेका राउतलाई २७ भदौमा प्रहरीले पक्राउ गरेको थियो । उनविरुद्ध जिल्लाप्रशासन कार्यालय मोरङमा सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइ प्रहरीले म्याद थप गराएको थियो ।
उनले राज्य द्रोह गरेका यथेष्ट प्रमाण भेटिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालको कानून अनुसार राष्ट्र विखण्डनको गतिविधि गरेको पुष्टि भए जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ।
बन्दी प्रत्यक्षीकरणमा परेको रिटमा सर्वोच्च अदालतले पनि राउतलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

