समाचारबुधबार, आश्विन १७, २०६९
कांग्रेसले आदिवासी जनजातिका माग सम्बोधन गर्ने
कोइराला निवास महाराजगञ्जमा १७ असोजमा बसेको पदाधिकारी तथा नेताहरुको बैठकले जनजातिका मुद्दा र मागलाई जायज ठहराउँदै लोकतान्त्रिक प्रक्रिया र पद्धतिबाट समाधान गर्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवाले आदिवासी जनजाति नेताहरुका मागप्रति पार्टी सधैँ सकारात्मक रहेको बताए । “आदिवासी जनजातिका माग र मुद्दाप्रति कांग्रेसले गम्भीर छ,” उनले भने, “पार्टीभित्र परामर्श गरेर आदिवासी जनजातिका जायज मागलाई सम्बोधन गरिने छ ।”
जातीय राज्य, सङ्घीयता, अधिकारलगायतका माग उठाएर केही जनजाति नेताहरुले पार्टी परित्याग गर्ने तयारी गरेपछि कांग्रेसले यस विषयमा परामर्श थालेको हो ।
यसैबीच, आदिवासी जनजाति नेताहरुको मागका विषयमा रायसुझाव दिन केन्द्रीय सदस्य भीमबहादुर तामाङ संयोजकत्वमा गठित समितिले आजै आफ्नो प्रतिवेदन पार्टीसमक्ष बुझाएको छ ।
प्रतिवेदन सकारात्मक रहेको जनाउँदै कांग्रेस नेता देउवाले यसका सुझावमा छलफल गरेर कार्यान्वयनमा लैजाने बताए । प्रतिवेदनमाथि छलफल गर्न काँग्रेसका पदाधिकारी र नेताहरुको बैठक १८ असोजमा पुनः बस्ने जनाइएको छ । रासस
