समाचारबिहीबार, आश्विन १८, २०६९
अधिकृतमा अनुतिर्ण लडाकुलाई तल्लो तहमा भर्ना
१८ असोज विहान बसेको माओवादी लडाकु रेखदेख, पुनस्थापना तथा समायोजन विशेष समितिको बैठकले अधिकृतस्तरको परीक्षामा अनुतिर्ण लडाकु कमान्डरहरुलाई नेपाली सेनाको अधिकृतभन्दा तल्लो तहमा समायोजनको मौका दिने निर्णय गरेको हो ।
विशेष समिति मातहतको सचिवालयको प्रस्ताव अनुसार उनीहरुलाई अधिकृतभन्दा मुनिका सुवेदार, जमदार लगायतका पदमा समायोजन गर्ने निर्णय विशेष समितिले गरेको छ । अधिकृतस्तरको गुणमापन परीक्षामा सहभागी अन्य ७१ लडाकु भने उर्तिण भएका छन् ।
विशेष समितिको वैठकमा सरकारले लडाकु शिविर व्यवस्थापनमा भएको खर्चको विवरण समेत पेश गरेको छ । काङ्ग्रेस र एमालेका तर्फबाट विशेष समितिमा प्रतिनिधित्व गर्ने सदस्यले लडाकु शिविरमा करोडौं रुपैँया भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेपछि सरकारले खर्चको विवरण पेश गरेको हो । विवरणका आधारमा अर्को वैठकमा भ्रष्टाचार भएनभएको बारेमा कुरा उठाइने विशेष समिति सदस्य डा मिनेन्द्र रिजालले जानकारी दिए ।
समायोजनमा जाने पूर्वलडाकुको संख्या निकै कम भएकाले यसअघि गठन गर्ने भनिएको महानिर्देशनालय भने नबन्ने देखिएको छ । वैठकपछि विशेष समितिका सदस्यहरुले महानिर्देशनालयको विषय समायोजन हुने लडाकुको सख्या निर्धारण भएपछि मात्र टुङ्गो लाग्ने बताएका छन् ।
उर्तिण लडाकुको स्वास्थ्य परीक्षणपछि आगामी शुक्रबार उनीहरुको अन्तवार्ता हुने विशेष समिति मातहतको सचिवालयले जनाएको छ । अधिकृतभन्दा मुनिको परीक्षा उर्तीण गरेका १ हजार ३ सय पूर्व लडाकुलाई सेनाले विभिन्न सातवटा तालिम केन्द्र तोकी मंसिर ६ गते उपस्थित हुन आग्रह गरेको छ ।
