समाचारशनिबार, आश्विन ४, २०७१

वैदेशिक रोजगारीका समस्याबारे प्रधानमन्त्रीको चासो

हिमालखबर

Sushil-Koirala1संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा भाग लिन न्युयोर्क जानेक्रममा प्रधानमन्त्री सुशील कोइरालाले बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्समा भेला भएका मध्यपूर्वी एशिया, पश्चिम एशिया र उत्तरी अफ्रिकी मुलुकमा कार्यरत राजदूत तथा कार्यबाहक राजदूतबाट रोजगारीका सिलसिलामा ती मुलुकमा पुगेका नेपाली नागरिकले ब्यहोर्नु परेका झन्झट र सुल्झाउन सकिने उपायका बारेमा जानकारी लिएका छन् ।

उक्त अवसरमा प्रधानमन्त्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत धनञ्जय झा, साउदी अरेबियाका राजदूत उदयराज पाण्डे तथा कुवेतका लागि कार्यबाहक राजदूत विशाल भट्टराई, ओमनका लागि कार्यबाहक राजदूत झविन्द्र अर्याल, कतारका लागि कार्यबाहक राजदूत गणेश ढकाल र इजिप्टका लागि कार्यबाहक राजदूतले सम्बन्धित देशमा देखिएका श्रमसम्बन्धी समस्या, समाधानका लागि सरकारका तर्फबाट चालिनु पर्ने प्रयासका बारेमा केन्द्रित रहेर धारणा प्रस्तुत गरेका थिए ।

राजदूतहरुले श्रमदाता मुलुकमा कामदार पठाउनुपूर्व त्यहाँ रहेको राजदूतावासको सिफारिसलाई अनिवार्य गरिने हो भने अहिले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका आधा समस्या स्वतः घट्ने भनाइ राखे ।

विदेशमा रोजगारीमा गएका नेपाली कामदारले खासगरी राहदानी, सम्झौताअनुसारको परिश्रमिक र सम्बन्धित देशको कानून पालनामा देखिएको कमी कमजोरीलाई लिएर समस्या खेप्दै आउनुपरेको राजदूतहरुले जानकारी गराए ।

पछिल्लो समय गैरकानूनीरुपमा दलालमार्फत वैदेशिक मुलुकमा गएर दुःख पाएका घटनासमेत बढिरहेको उनीहरुको भनाइ थियो ।

यी मुलुकमा मात्रै अहिले १५ लाखभन्दा बढी नेपाली रोजगारीका लागि श्रम बेचिरहेको बताइएको छ ।

पछिल्लो समय एमआरपी छपाइमा देखिएको त्रुटिले समेत वैदेशिक रोजगारीमा गएको नागरिकलाई थप पिरोलेको जनाउँदै नियोगमा जनशक्तिको कमी भएको बारेमा पनि राजदूतहरुले जानकारी गरएका थिए ।

प्रधानमन्त्री कोइराला महासभामा भाग लिन आज राति अबेर न्युयोर्क प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>