समाचारमंगलबार, आश्विन ७, २०७१
भोक हड्ताल: रामायणदेखि नन्दप्रसादसम्म
भरतले रामको अगाडि कुश आसनमा बसेर बनवास नजान आग्रह गर्दै भोक हडताल शुरु गरेका थिए । रामायणमा उल्लेख भए अनुसार रामले भाइलाई त्यसो नगर्न सम्झाएपछि भरतले अनशन तोडेका थिए ।
युरोपमा न्याय प्राप्तिका लागि अनशन वा भोक हडताल ‘प्रि–क्रिस्चियन’ कालमा आयरल्याण्डबाट शुरु भएको हो । त्यसबेला भोक हडताल पीडकको ढोकैमा गएर गरिन्थ्यो । अनुसन्धानवेत्ताहरुले त्यसबेलाको उच्च नैतिक संस्कृतिका कारण पीडकको ढोकैमा गएर अनशन गर्न सकिएको बताउँछन् ।
यदि कसैको ढोकामै अनशनकारीको मृत्यु भयो भने उसलाई समाजबाटै बहिस्कृत गरिन्थ्यो । यद्यपी, त्यसबेलाको आयरल्याण्डमा भोक हडतालकै कारण अनशनकारीको मृत्यु भएको प्रमाण भने भेटिएकोे छैन ।
भारतमा सन् १८६१ सम्म ऋण असुलीका लागि ऋणीको घर अगाडि धर्ना र अनशन गर्ने प्रचलन थियो भने चर्को ब्याज लगाउने साहुलाई ऋण मिनाहा गरिदिनका लागि पनि अनशन गरिन्थ्यो । त्यसबेला समाज र राज्यबाट समेत मान्यता पाएको यस्तो अनशनको अधिकार सन् १८६१ मा त्यसबेलाको सरकारले अन्त्य गरेको थियो ।
यी सबै प्रकरणहरुबाट थाहा हुन्छ, न्यायका लागि अनशन वा भोक हड्ताल गर्ने चलन धेरै पुरानो हो । फरक यतिमात्र हो कि, थोरैमात्र पनि नैतिकता भएको समाजमा सत्य र न्यायका पक्षमा पर्ने दबाबले पीडक र सरकार समेतलाई जवाफदेही बनाउँथ्यो, धेरै हदसम्म पीडितले न्याय पनि पाउँथे ।
चर्चित भोक हडतालहरु:
महात्मा गान्धी
भारतमा महात्मा गान्धीले गरेका भोक हडतालका शृंखला उनको जीवन पर्यन्त चलिरहे । सन् १९२२, १९३०, १९३३ र १९४२ मा जेलभित्रै उनले भोक हडताल गरेर तात्कालिक माग पूरा गर्न भारतलाई उपनिवेश बनाएका बेलायतीहरुलाई बाध्य पारेका थिए । गान्धी त आफूबाट समेत केही गल्ती भएको महशुस गर्दा पनि पश्चातापका लागि उपवास गर्थे ।
अहिंसात्मक रुपमा आफ्ना मागको प्रचार गर्न र पूर्वनिर्धारित उद्देश्य पूर्तिका लागि दबाब दिन गरिने धेरैजसो भोक हडताल सफल पनि भएका छन् । जसलाई महात्मा गान्धी सत्याग्रह भन्ने गर्दथे । गान्धीको यो ‘सत्याग्रह’लाई अहिले पनि उदाहरणीय रुपमा लिइन्छ ।
भारतलाई बेलायतको उपनिवेशबाट मुक्त गराउन जेलमा भगत सिंहको नेतृत्वमा भएको भोक हडताल विश्वमै चर्चित छ । त्यसबेला ११६ औं दिनमा भगत सिंहले अनशन तोडेका थिए, त्यसअघि आइरिस क्रान्तिकारीले ९७ दिनसम्म गरेको भोक हडतालको रेकर्ड तोड्दै । यद्यपी भगत सिंहको भोक हडताल कुनै रेकर्डका लागि थिएन ।
अमरजिवी श्रीरामुलु
भारतीय क्रान्तिकारी पोट्टी श्रीरामुलुको भारत स्वतन्त्र भएपछि सन् १९५२ मा भोक हडतालको ५८ औं दिनमा मृत्यु भएको थियो ।
भाषाका आधारमा छुट्टै आन्ध्र राज्य माग गर्दै उनी अनशन बसेका थिए । उनको मृत्युपछि विश्वका धेरै ठाउँमा भाषाका आधारमा बेग्लै राज्य माग्ने क्रम बढ्यो । मरणोपरान्त उनलाई आन्ध्रमा ‘अमरजिवी’ उपाधि दिइयो ।
भारतमै मणिपुरकी इरोम शर्मिला विगत १४ वर्षदेखि अनशनमा छन् । त्यहाँ सेनालाई दिइएको असिमित अधिकार हटाउनुपर्ने उनको माग छ । उनलाई सरकारले बन्दी बनाएर नाकबाट पाइप छिराई पोषिलो झोल खुवाउँदै आएको छ । केही साताअघि मात्रै उनी जेलमुक्त भएकी छन्, तर पनि नाकबाट पोषण भने लिइरहेकै छन् ।
बेलायती र अमेरिकी महिला अधिकारकर्मी
बेलायतमा २० औं शताब्दीको शुरुवातमा महिलाले मतदान गर्न पाउनुपर्ने हक माग्दै थुप्रै भोक हडतालहरु भए । मरियन डनलपले १९०९ मा पहिलो पटक मताधिकारको माग गर्दै जेलमा अनशन शुरु गरेकी थिइन् । मताधिकारकै लागि आन्दोलनरत मेरी क्लार्कलाई भने त्यसबेलाको सरकारले ‘फोर्स फिडिङ’ गराए पनि उनको जेलमै मृत्यु भएको थियो ।
अमेरिकी संविधानमा १९ औं संशोधन हुनुभन्दा अघिसम्म महिलाको मताधिकारका लागि थुप्रै आन्दोलन र भोक हडताल भएका थिए । त्यसबेलाको आन्दोलनको नेतृत्व एलिस पाउलले गरेकी थिइन् ।
आइरिस रिपब्लिकन
आइरिस समाजमा भोक हडताल निकै पुरानो प्रथा हो । ब्रेहन कानून प्रणाली (एकपुस्ताले अर्को पुस्तालाई सुनाएकै भरमा मान्यता पाएकोे अलिखित कानून) ले पनि भोक हड्ताललाई मान्यता दिएको थियो ।
सन् १९१७ मा बेलायती साम्राज्यका अधिकारीहरुले ‘फोर्स फिडिङ’ गराए पनि त्यसबेला गणतन्त्र आयरल्याण्डका लागि संघर्षरत थोमस एशको माउण्टज्वाय जेलमा मृत्यु भएको थियो । त्यसैगरी सन् १९२० मा लर्ड मेयर, टेरेन्स म्याक स्विनीको भोक हडतालकै क्रममा मृत्यु भएको थियो । जेलमा दिइने अमानविय यातनाका विरुद्ध उनीहरुले हडताल गरेका थिए ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’का अनुसार फोर्स फिडिङ नगरेरै सबैभन्दा लामो भोकहडतालपछि मृत्यु भएका आइरिसहरु जोन पिटर क्रोली, थोमस डोनोभ्यान, माइकल बुर्के, माइकल ओ रेली, क्रिस्टोफोर अप्टन, जोन पाउर, जोसेफ केन्नी र सिन हेन्नेसी को कोर्क जेलमा ९४ औं दिनमा मृत्यु भएको थियो । उनीहरुले ११ अगस्तदेखि १२ नोभेम्बर १९२० सम्म भोक हडताल गरेर मृत्युवरण गरेका थिए ।
सन् १९८१ मा ७ जना आइरिस रिपब्लिकनले गरेको भोक हड्ताल पनि चर्चित भोक हड्तालमध्येको हो । त्यसबेलाको बेलायती सरकारले अनशनकारीका माग पूरा गर्ने आश्वासन दिएर अनशन तोड्न लगायो । तर पनि आन्दोलनकारीका माग पूरा नभएपछि फेरि १० जनाले जेलमै अनशन शुरु गरे । त्यसैक्रममा बबी स्याण्ड्सकोे ४६ औं दिनमा मृत्यु भयो ।
अन्य अनशानकारीले नुन र पानी खाँदै आयु केही लम्बाए पनि ७३ दिनभन्दा बढी बाँच्न सकेनन् । १० जनाको मृत्युपछि बेलायती सरकारले कैदीहरुलाई केही सुविधा दिने भयो र हडताल फिर्ता भयो ।
क्युबाली विद्रोही
३ अप्रिल १९७२ मा विद्रोही कवि पेड्रो लुइस बोइटेलले जेलमा भोक हडताल शुरु गरेको घोषणा गरे । ५३ दिनपछि २५ मे १९७२ मा उनको मृत्यु भयो ।
गुइलेर्मो फ्रान्सिसले क्युवामा इन्टरनेटमा लगाइएको सेन्सरसिपविरुद्ध सन् २००६ मा पानी खाएर ७ महिना लामो भोक हडताल गरेका थिए । रिपोर्टर्स विथआउट बोर्डर्सले उनलाई सन् २००६ को साइबर–फ्रिडम पुरस्कारले सम्मानित गरेको थियो ।
२३ फेब्रुअरी २०१० मा ओर्नाल्डो जापाटा टामायोले जेलमै भोक हड्ताल शुरु गरे । सरकार विरुद्ध आन्दोलनमा उत्रिएका उनी २००३ मा जेल परेका थिए । उनको ८३ औं दिनमा मृत्यु भएको थियो । उनले जेलमा कैदीहरुमाथि गरिने क्रुर ब्यवहारमा सुधारको माग गर्दै भोक हडताल शुरु गरेका थिए ।
नन्दप्रसाद–गंगामाया
सामाजिक कामका लागि धनीमानीसँग सहयोग लिन धर्ना र भोक हड्तालको चलन नेपालमा पनि थियो । राजनीतिक उद्देश्य पूर्तिका लागि, जेलभित्र गरिने अनशन पनि नेपालमा पुरानै हुन् ।
न्यायप्राप्तिका लागि गरिएको ३३२ दिन लामो अनशनपछि नन्दप्रसाद अधिकारीको मृत्युवरण भने नेपालमा पहिलो घटना हो । सम्भवतः विश्व इतिहासमा पनि यति लामो अनशनपछि मृत्यु भएको यो पहिलो घटना हुनसक्छ । गंगामाया अझै अस्पतालमै छन् ।
सन् २०१४ मा प्रजातान्त्रिक पद्दतीबाट चुनिएको सरकार भएका बेला एक बाबुले आफ्नो छोराका हत्यारालाई कार्वाहीको माग गर्दागर्दै मर्नु पर्ने अवस्था लोकतन्त्रकै उपहास हो ।
सन्दर्भ सामाग्रीः हिष्ट्री डट कम, आइरिस हङ्गर स्ट्राइक, विकिपिडिया



