समाचारबुधबार, आश्विन ८, २०७१

मलेशिया एअरपोर्टमा १६० नेपाली अलपत्र

हिमालखबर

मलेशियाको विमानस्थलमा महिनौंदेखि अलपत्र परेका १६० जना नेपाली कामदारमध्ये कतिपयको स्वास्थ्यस्थिति नाजुक बनेको छ ।

मलेशियाका लागि नेपाली राजदूत निरञ्जनमान सिंह बस्न्यातले अलपत्र परेका यी नेपाली कामदार क्वालालम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्प (थुनुवा कक्ष) मा बसिरहेको जानकारी दिए ।

उनले अलपत्र परेका कामदारलाई उद्धार गरी फर्काउन पहल भइरहेको पनि बताए । यसबाहेक अन्य सयौं कामदार मलेशियाका विभिन्न शहरका जेलमा रहेका र अलपत्र परेका पनि उनले बताए । अन्य स्थानमा अलपत्र परेकामध्ये अधिकांश गैरकानूनी कामदार छन् ।

उनीहरुलाई स्वदेश फिर्ता गराउन दूतावासले विशेष पहल गरिरहेको छ । दैनिक २०० कामदारलाई स्वदेश फिर्ता गर्न ट्राभल डकुमेन्ट बनाउने गरिएको बस्न्यातले बताए ।

नेपालका मेनपावर कम्पनीले जान चाहने कामदारसँग चर्को शुल्क असुल्ने र नक्कली कम्पनीमा पठाउने प्रवृत्ति बढेको छ । वैदेशिक रोजगारीका क्षेत्रका समस्यामध्ये ७० प्रतिशतभन्दा बढी नेपालमै उत्पन्न हुने गरेको दूतावासका अधिकारीले बताए ।

मलेशिया जाने कामदारसँग ८० हजारभन्दा बढी रकम लिन नपाउने नियम भए पनि दुई लाख ३० हजार रुपैयाँसम्म लिएको प्रमाण दूतावासमा रहेको जानकारी राजदूत बस्न्यातले दिए ।

गैरकानूनी काम गर्ने दूतावासलाई कार्वाही गर्न दूतावासले वैदेशिक रोजगार विभागलाई पत्र पठाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । कार्वाही गरिनुको साटो तिनै म्यानपावरबाट थप कामदार पठाउने काम भइरहेको छ ।
अन्नपूर्ण दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>