समाचारबिहीबार, आश्विन ९, २०७१
लगानीको वातावरण बन्योः प्रधानमन्त्री
प्रधानमन्त्री कोइरालाले लगानीको वातावरण बनेकोले स्वदेशमा फर्कन अमेरिकावासी नेपालीलाई आग्रह गरेका छन् । अमेरिका न्यूयोर्कको पार्क एभेन्यु ग्राण्ड सेन्ट्रलस्थित होटल ह्यातमा ९ असोजमा आयोजित कार्यक्रममा उनले अमेरिकामा सिकेको सीप लिएर स्वदेशमै फर्कन आग्रह गरेका हुन् ।
“उपयोगी सीप सिके, प्रशिक्षित, उच्च शिक्षा लिएका जनशक्तिहरु स्वदेश फर्केर देशको समुन्नतिमा लाग्नु होस्,” उनले भने, “अब नेपालमा नै लगानीको वातावरण बनेको छ ।”
हरेक देशको विकास त्यही देशका नागरिकको प्रयासले नै संभव भएको स्मरण गराउँदै उनले देशका लागि अब केही गर्ने बेला भएको बताए । उनले भारतसँग भएको विद्युत् व्यापार सम्झौताले जलविद्युतमा लगानीको ढोका खोलेको बताए ।
उनले देशमा केही गरेर देखाउनका लागि आफूले प्रधानमन्त्री पदको जिम्मेवारी लिएको बताए । उनले भने, “संविधान निर्माणमा पनि उल्लेख्य प्रगति भइरहेको छ ।”
उनले संविधानसभा बाहिर रहेका दलहरुको विचारलाई समेत समेट्नका लागि सरकार र संविधानसभाको संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिले प्रयास गरिरहेको बताए ।“संविधान समयमा नै बन्छ, तपाईंहरु ढुक्क हुनुहोस्,” उनले भने ।
