समाचारशुक्रबार, आश्विन १०, २०७१

मदन र जगदम्बा–श्री पुरस्कार वितरण हुँदै

हिमालखबर

गुठीको कार्यालय पाटनढोकामा ०७० सालको मदन पुरस्कार राधा पौडेल र जगदम्बा–श्री पुरस्कार शिव रेग्मीलाई प्रदान गर्न लागिएको हो । पौडेलको लडाइँ सम्झना ‘खलंगामा हमला’ र रेग्मीलाई साहित्यिक पत्रकारिताको अन्वेषणमा योगदान गरेवापत पुरस्कृत गर्न लागिएको छ ।

२८ भदौमा बसेको गुठीको साधारणसभाले पौडेल र रेग्मीलाई पुरस्कृत गर्ने  निर्णय गरेको हो । दुवै पुरस्कारको राशी दुई दुई लाख रुपैयाँ छ ।

 


जगदम्बाश्री र मदन पुरस्कार अन्वेषक र युद्ध साक्षीलाई

– तुफान न्यौपाने

०७० सालको मदन पुरस्कार चितवनकी राधा पौडेल र जगदम्बाश्री काठमाडौंका शिव रेग्मीलाई प्रदान गरिएको छ। ७४ वर्षीय रेग्मीका दिनहरू बन्द कोठाभित्र साहित्यिक पत्रिका संकलन र वाङ्मय अध्ययन–अनुसन्धानमा बित्छ। २०१५/१६ देखि पत्रिका संकलन थालेका रेग्मीसँग धर्ती, प्रगति, शारदा, उदय, उद्योग, भारती, इन्द्रेणी, स्वास्नीमान्छे, साहित्य, रूपरेखा, रचना, मुकुट र मधुपर्क का सबै अङ्क छन्।

२०१६ देखि आउन थालेको त्रैमासिक ‘नेपाली’ का हालसम्मका २१६ अङ्क उनीसितै छन्। पहिलोदेखि अन्तिम अङ्कसम्मको सेट नभएका पत्रिका त उनीसँग कति छन् कति! गोरखापत्र संस्थानसँग नभएका मधुपर्क र शनिवासरीय परिशिष्टाङ्क हरू उनीसँग छन्।“प्रज्ञाको १०० र कविताको पनि ९० अङ्क संकलन गरें”, रेग्मी भन्छन्, “किन्ने हैसियत र राख्ने ठाउँ दुवै नभएपछि छोडिदिएँ।”

जगदम्बाश्री विजेता शिव रेग्मी।

जगदम्बाश्री विजेता शिव रेग्मी।

रेग्मीले १९५८ सालदेखि प्रकाशन शुरू भएको गोरखापत्र को १९७२ देखिका अङ्क संकलन र अध्ययन गरेका छन्। यस्तै अन्वेषणका लागि उनले मदन पुरस्कार गुठीले प्रदान गर्ने २०७० को जगदम्बाश्री पुरस्कार पाएका छन्।

 

‘नेपाली साहित्यिक पत्रपत्रिकाको गम्भीर अन्वेषण, पत्रपत्रिकाको विशिष्ट संकलन, तिनको समीक्षा, समालोचना तथा लेखन गरी नेपाली भाषाको अविरल रूपमा सेवा गरिरहेबापत’ उनलाई पुरस्कृत गरिएको गुठीले जनाएको छ।

रेग्मीले हिमाल सँग भने, “कतै प्रचार नगरी बन्द कोठामा गरेको तपस्या कसलाई मतलब होला जस्तो लाग्थ्यो, तर मदन पुरस्कार गुठीले हेरेको रहेछ, खुशी छु।”

२०५८ मा ‘नेपाली आमसञ्चारको इतिहास’ लेखेका रेग्मीले सम्पादन गरेका १८ पुस्तक प्रकाशित छन्। उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाले विभिन्न किताब र पत्रिकामा लेखेका भूमिका संकलन र सम्पादन गरी प्रकाशित गरेका छन्।

उनले देवकोटाले लेखेका तर संग्रहमा नपरेका निबन्धहरूको संग्रह पनि निकालेका छन्।

मदन पुरस्कार विजेता राधा पौडेल।

मदन पुरस्कार विजेता राधा पौडेल।

संग्रहमा नपरेका देवकोटाका कथाको संकलन निकाल्ने उनको योजना भने एउटा कथा नभेट्टाएकाले रोकिएको छ। “युगवाणी को वर्ष–१, अङ्क–२ मा छापिएको देवकोटाको ‘डायमण्ड कुकुर’ कथा खोजेको १० वर्ष भयो”, रेग्मी भन्छन्।

हृदयचन्द्रसिंह प्रधानका लेखरचना संकलन/प्रकाशन गरिसकेका उनको आगामी योजना भैरव अर्यालका ‘बाँकी निबन्ध’ हरू प्रकाशन गर्नेछ।

अन्वेषक रेग्मी यसअघि प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार, गोमा सम्मान, भवदेव पन्त पुरस्कार, हृदयचन्द्रसिंह प्रधान सम्मान आदिबाट पुरस्कृत/सम्मानित भइसकेका छन्।

उनले बनाएको प्रकाशकसँग समेत नभएका पत्रपत्रिकाको पुस्तकालय नेपाली साहित्यका विद्यार्थीका लागि अध्ययनको आधिकारिक ठाउँ बनेको छ।

कविताको आलोचनात्मक समीक्षा लेख्दा सम्बन्धित कविले चित्त दुखाएपछि मृत्यु भइसकेकाहरूको रचना संकलन र अन्वेषणमा लागेका रेग्मी नेपालमा जे देख्यो, त्यो लेख्दा चित्त दुखाउने चलन अझै रहेको बताउँछन्।

त्यस क्रममा नेपाली साहित्यिक पत्रिकाको पूरै इतिहास खोज्न भ्याएको बताउँदै उनी भन्छन्, “स्वार्थरहित स्वस्थ आलोचना सुन्न नचाहने प्रवृत्तिले वाङ्मयको गुणात्मक विकासमा असर पुर्‍याउँछ।”

निर्वाचन आयोगको उपसचिवबाट रिटायर्ड भएपछि ‘फूल टाइम’ साहित्यिक अन्वेषक बनेका हुन्, रेग्मी।

नेपाल प्रेस इन्स्टिच्युटमा करीब २० वर्ष नेपाली पत्रकारिताको इतिहास पढाएका उनले २०६३ मा प्रकाशन बन्द भइसकेका ३९ साहित्यिक पत्रिकाका पूरै सेट समेटेर ‘अतीतका पाना’ प्रकाशन गरे।2xruclW

२०६९ मा त्यस्तै प्रकृतिको अर्को संग्रह ‘खोजीनिती’ प्रकाशन गरेका रेग्मीले त्यसको दोस्रो भाग निकाल्ने प्रकाशक पाएका छैनन्। “म प्रकाशक खोज्न जाँदिन, छाप्छु भन्दै कोही आउँदैनन्”, उनी भन्छन्, “यस्ता किताब बिक्न पनि छाडे।”

प्रकाशकको समस्या यो वर्षको मदन पुरस्कार विजेता राधा पौडेल (४१) लाई पनि परेको थियो।

उनको पुरस्कृत कृति ‘खलङ्गामा हमला’ ले १० वर्षपछि मात्र प्रकाशक पाएको थियो। २८ कात्तिक २०५९ मा माओवादीले जुम्ला सदरमुकाममा हमला गर्दा जागीरको सिलसिलामा त्यहीं रहेकी चितवनकी राधाको कोठामा पनि गोली बर्सिए।

 

उनी जसोतसो बाँचिन्, तर दिउँसो सँगै बैठकमा बसेका प्रमुख जिल्ला अधिकारी दामोदर पन्त र जिल्ला प्रहरी प्रमुख विजय घिमिरे लगायत दर्जनौं मानिस मारिए।

त्यो घटनाबाट विह्वल भएकी उनको मनमा अनाहकमा किन मान्छे मारिन्छ? किन युद्ध भइरहेको छ? भन्ने प्रश्नहरू खेल्न थाले। राधा भन्छिन्, “म साक्षी बनेको त्यो घटना काठमाडौंलाई सुनाउनुपर्छ भनेर किताब लेखें।”

उनले किताब त लेखिन्, तर प्रकाशक भेटिनन्। करीब एक दशकपछि मात्र नेपालयले उनको किताब छापेको थियो। गैर–सरकारी संस्था ‘एक्सन वर्क’ खोलेर सामाजिक सेवामा लागेकी राधाले पुस्तकको रोयल्टी जुम्लाको बोहरागाउँमा शान्ति बाटिका निर्माणमा लगाइरहेकी छिन्।

 

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>