ब्लगशनिबार, आश्विन ११, २०७१
जीवन बुझाउने ‘खुसी’
पाठकले किताब होइन लेखकको दिमाग पढिरहेको हुन्छ । यो तथ्यलाई बेवास्ता गर्दै पाठकलाई आत्मप्रशंसाको भारी बोकाउने प्रतिस्पर्धा बढेको बेला पत्रकार विजय कुमारले आत्मकथा ‘खुसी’ सार्वजनिक गरेका छन् । चर्चित राजनीतिज्ञ, पत्रकार आदिको आत्मकथा भनेपछि आम पाठकले विभिन्न घटना तथा पात्रहरूको खुलासाको अपेक्षा राख्नु स्वाभाविकै हो । तर, विजय कुमारले त्यस उद्देश्यका लागि नभई आफ्नो विगतको निर्मम समीक्षा, जीवनको सार्थकता र खुशी खोज्ने क्रममा यो किताब लेखेको बताएका छन् ।
पश्चिम नेपालको एउटा बालक बाबुको मृत्युपश्चात् काठमाडौं मावली बसेर हुर्कन थाल्छ । इन्जिनीयरिङमा सर्टिफिकेट लेवल गरेर जागीरे बनेको ऊ साँघुरो घेरामा बाँधिएर बस्न नसक्ने छटपटीका कारण सरकारी नोकरी छाडेर पत्रकार बन्छ र आफ्नो समयको सफलतम टेलिभिजन टक शो होष्ट, स्तम्भकार र सम्पादक पनि हुन पुग्छ । तर पनि, ऊ शान्त र खुशी हुन सक्दैन । खुशीको खोजीमा भौंतारिने क्रममा सेतो गुम्बाका रिम्पोचे सामु पुग्छ । रिम्पोचेले ‘तिमी विजय कुमार हौ वा तिम्रो नाम विजय कुमार हो ?’ भनी सोध्दा टेलिभिजन स्क्रिनमा धारिलो प्रश्नको वर्षा गरेर दिग्गज भनिएकाहरूलाई हायलकायल बनाउने पत्रकार निरुत्तर हुन्छन्, जुन ‘खुसी’ को रचनागर्भ बन्न पुग्छ ।
जल्दाबल्दा पत्रकार विजय कुमार टेलिभिजनको तालीममा छनोट हुन नसकेको, पटक–पटक अपमानित हुनुपरेको, आर्थिक संकटले हैरान परेको जस्ता आज अनौठो लाग्ने प्रसंगहरूमाथि पर्दा हटाउँदै उनी लेख्छन्– ‘टाउकोमा गोली खाने सम्पादक (पदम ठकुराठी) को साटो कुनै घटिया सम्पादकका साथ करिअर शुरु गरेको भए, त्यस्तो हुने थिइनँ, जस्तो भएँ ।’ व्यावसायिक पत्रकारिताको क्रममा दरबार र विदेशी कूटनीतिक नियोगदेखि कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल लगायतका नेता र औद्योगिक/व्यावसायिक घरनासम्मको सर्कलमा पहुँच बनाउन सकेका लेखक आफ्नो अनुभव बताउँदै लेख्छन्– ‘पत्रकारिताले मलाई दिएको सबैभन्दा ठूलो सन्तोष राजा, महाराजा, राष्ट्रपति वा प्रधानमन्त्रीहरूको अन्तर्वार्ता लिएको क्षण होइन, अपितु सामान्यजनसित हृदय साटासाट गरेको बखत मात्र हो ।’
पुस्तकमा ठग बाबाको चक्कर र रक्सी छाड्न गरेका भगीरथ प्रयत्नहरूको फेहरिस्त पनि छ । मदिरा पीडितहरूको विश्वव्यापी संगठन ‘अल्कोहलिक एनोनोमस’ का सदस्य सामु ‘माइ नेम इज विजय, आई एम एन अल्कोहलिक’ भन्न नसकेको प्रसङ्गले आफूले बुझेको सत्य स्वीकार्न मान्छेका लागि कति दुष्कर हुन्छ भन्ने देखाउँछ । ‘हो, भोगमा मस्ती छ । ‘लस्ट’ मा ज्वरयुक्त मज्जा छ । तर त्योभन्दा ठूलो मस्ती ‘फ्रिडम फ्रम लस्ट’ मा छ । ठूलो मस्तीसँग परिचय हुने बित्तिकै सानोखाले भोकको स्वाद आफैं हट्छ’– विजय कुमारले लेखेका छन् । स्वयंलाई बिर्सिएर प्रविधि र भौतिक चकाचौंधका पछाडि दौडिरहेको पुस्तालाई पुस्तकले वास्तविक खुशी हाम्रा सामान्य मानवीय व्यवहारहरूमा अन्तर्निहित हुने सन्देश दिन्छ । आधुनिक जीवनलाई अध्यात्मले थप सहज बनाउन सक्ने विजय कुमार बताउँछन् ।
समाजप्रतिको जिम्मेवारी बोध गरेका लेखकले आहतहरूको हृदयमा मल्हम लगाउनुमा जीवनको सर्वोत्तम खुशी रहेको बताएका छन् । मृत्युशैय्यामा रहेका पतिलाई खर्च अभावका कारण अस्पतालबाट ‘डिस्चार्ज’ गराइदिन याचना गरिरहेकी महिलालाई निःशुल्क उपचारको प्रबन्ध मिलाउन सक्दा प्राप्त खुशी यसरी अभिव्यक्त गर्छन् लेखक– ‘त्यस दिन परमात्माले मलाई आफ्नो सेवा गर्न योग्य ठाने । मेरा लागि त्योभन्दा खुशी के पो हुन सक्थ्यो र !’ उनले आफ्नो प्रभावबाट दोलखाकी भावना थामीको उपचार, वेत्रावतीको गिटी कुट्ने मजदूरका छोरालाई इन्जिनीयरिङ कलेज भर्ना र भलिबल खेलाडी सिपोरा गुरुङको उपचार सम्भव हुँदा महसूस गरेको खुशीलाई सर्वोत्तम खुशीको रुपमा उल्लेख गरेका छन् ।
मुहार मुनिको भूगोल, छातीको उभार, पानी फेर्न जानु जस्ता रसरङ्गपूर्ण टिप्पणी यत्रतत्र गरेका विजय कुमारले किताबमा ‘सेक्स’ शीर्षकको एउटा सिङ्गै खण्ड राखेका छन् । पूर्वीय दर्शन र पारमार्थिक सत्यबोधको कुरा गर्ने लेखकले यो खण्डमा दिएको यौन सम्बन्धी विचार पाठकहरूको एउटा तप्कालाई असंगतिपूर्ण लाग्न सक्छ । २९ खण्डमा विभाजित संस्मरणलाई सूक्तिहरूले केही बोझिल बनाएको छ । यद्यपि, पठनमा रुचि राख्नेहरूलाई जीवनबोध गराउन सक्षम छ– ‘खुसी’ ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
