समाचारशुक्रबार, आश्विन १९, २०६९

सहमतिको प्रधानमन्त्रीमा सबैको दावी

हिमालखबर

रिपोर्टर्स क्लब नेपालले १९ असोजमा आयोजना गरेको साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले सहमतिको सरकारको नेतृत्व कांग्रेस सभापति सुशील कोइरालाले गर्ने दावी गरेका छन् भने एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले सहमतिको सरकारको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले लिने दावी गरे । त्यस्तै सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिको सरकारको नेतृत्वमा मधेशी मोर्चाले पनि दावी गर्ने बताए । उनले भने, “हामी राजनीति गर्न आएका हौं, सन्यासी बन्न आएका होईनौ ।”

कांग्रेस केन्द्रीय सदस्य उपाध्यायले बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच सरकारको नेतृत्वमा सहमति कायम नहुँदा निर्वाचित सभापति नै निर्विकल्प भएको दाबी प्रस्तुत गरे । उपाध्यायाले भने, “उहाँको जस्तो ब्यक्तित्व पनि अरुको छैन, त्यसैले उहाँको नाममा कुनै विवाद छैन ।” उपाध्यायले दलहरु छिट्टै सहमतिमा नपुग्ने हो भने अन्तरिम संविधान प्राकृतिक रुपमै अवसान हुने चेतावनी दिंदै त्यस बेला अहिले रहेका दल र नेताहरु बढारिने ठोकुवा गरे ।
एकीकृत नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिबोल गजुरेलले सहमतिको सरकारको नेतृत्व अध्यक्ष प्रचण्डले लिने दावी गर्दै भने, “शान्ति प्रक्रियाको नेतृत्व लिएका स्वर्गीय गिरिजाप्रसाद कोइरालापछिको शिर्ष नेता प्रचण्ड नै हुनुहुन्छ,” उनले थपे, “सहमति भए सरकारको नेतृत्व लिन तयार हुनु हुन्छ ।” यद्यपि गजुरेलले सामान्य अवस्थामा भने दाहाल प्रधानमन्त्री नबन्ने स्पष्ट पारे ।

गजुरेलले संविधानसभाको विघटनपछि पाँच बुँदे सहमतिको आधार ध्वस्त बनेको भन्दै अब नयाँ आधारमा सहमति बन्दा जो पनि प्रधानमन्त्री बन्न सक्ने वताए । कांग्रेसले भत्किसकेको सहमतिको आधारमा नेतृत्व खोजेकोले कुरा नमिलेको उनको दावी थियो । उनले कांग्रेस सभापति र एमाओवादी अध्यक्षवीचको छलफलमा संविधानसभा पुनःस्थापना गरेर निर्वाचनमा जाने विषयमा समेत छलफल भएको बताए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारको नेतृत्वको विषयमा दलहरुवीच सहमति बन्ने सम्भावना नरहेको भन्दै स्वतन्त्र ब्यक्तित्वको नेतृत्वमा निष्पक्ष चुनावी सरकार बनाउनु पर्ने धारणा व्यक्त गरे । उनले त्यस्तो सरकार बनाएर मुलुकलाई निकास दिन नसकिए आफ्नो पार्टी नेतृत्व दिन तयार रहेको बताए ।
दशै अघि सहमति बन्नै नसक्ने ठोकुवा गर्दै राणाले कार्तिक मसान्तसम्म सहमति नबने मुलुकमा अकल्पनीय दुर्घटना हुने चेतावनी दिए ।

सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सहमतिको सरकारको नेतृत्वमा मधेसी मोर्चाको दावी रहने भन्दै सहमति जुटाउन सक्नेले नै नेतृत्व गर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>