समाचारशुक्रबार, आश्विन १९, २०६९
काठमाडौंमा कतारको राजदूतावास स्थापना
आवासीय राजदूतस्तरमा स्थापना भएको उक्त दूतावासले २३ असोजदेखि औपचारिकरूपमा काम थाल्ने भएको छ ।
केही दिनभित्रै प्रवेशाज्ञालगायत ‘कन्सुलर’ सेवा प्रदान गर्ने तयारीका साथ दूतावास सञ्चालन हुने जानकारी दिँदै दूतावासका वित्त नियन्त्रक इयाद हमदानले नेपाली श्रमिकको माग आफ्नो मुलुकमा अत्यधिक रहेको उल्लेख गरे ।
कतार–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको तथा यसलाई अझ प्रगाढ बनाउन आफ्नो सरकारले राजदूतस्तरीय दूतावास स्थापना गरेको उनले बताए । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार हाल कतारमा चारलाखभन्दा बढी नेपाली कार्यरत छन् ।
कतारी राजदूतावाससँगै नेपालमा सञ्चालित कूटनीतिक नियोगको सङ्ख्या २७ पुगेको छ । यसैवर्ष साउदी अरेबियाले पनि कार्यबाहक राजदूतस्तरमा यहाँ दूतावास सञ्चालन गरेको छ । रासस
