समाचारशनिबार, आश्विन २०, २०६९

क्यान्सर बिरामीले उपचार पाएनन्

हिमालखबर

तीन वर्षदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरिब तथा विपत्र वर्गका नागरिकको निःशुल्क स्वास्थ्य उपचारका लागि बजेट पठाउँदै आए पनि चालु आर्थिक वर्षमा बजेट नपठाएपछि निःशुल्क उपचार सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका निर्देशक डा सुदीप श्रेष्ठले बताए । बजेटको अभावमा विपत्र वर्गका क्यान्सर रोगका बिरामीले महंगो उपचार सेवा धान्न नसक्ने उनको भनाई थियो ।

अस्पतालका प्रशासक राजाराम तौजलेका अनुसार गत आवमा सरकारले उपलब्ध गराएको एक करोड १० लाख रुपैयाँ बजेटबाट ४७९ जना गरिब तथा विपत्र बिरामीले निःशुल्क उपचार प्राप्त गरेका थिए । यस वर्ष भने एकतिहाई मात्रै बजेट पठाएपछि गाउँ गाउँदेखि उपचार गर्न आएका गरिब तथा विपत्र बिरामीले उपचार नपाएको उनले वताए ।

निःशुल्क उपचारका लागि गत चैतदेखि अहिलेसम्म २२० जना सिफारिससहित आएकोमा कतिपय निराश भएर फर्कन थालेका छन् । सिफारिस लिएर उपचारका लागि आउने बिरामी दिनदिनै बढेकाले उनीहरूको सिफारिसपत्रलाई थाती राखिएको जानकारी दिँदै प्रशासक तौजलेले मन्त्रालयले पैसा पठाएमा उनीहरूको उपचार शुरु गरिने बताए ।

मन्त्रालयले निःशुल्क उपचारका लागि बजेट नपठाए पनि सिफारिस भने पठाउने गरेको छ । प्रशासक तौजलेका अनुसार आन्तरिक स्रोतबाट चलेको अस्पतालले बजेटबिना महँगो उपचार गर्न सक्दैन तर मन्त्रालयबाट सिफारिस लिएर आउने बिरामीले भने अस्पतालले उपचार नगरेको भन्दै विवाद गर्ने गरेका छन्, उनीहरूलाई बजेट नआएको कुरा बुझाउनै गाह्रो छ ।

गरिब तथा विपत्र वर्गका बिरामीका लागि बढीमा ५० हजारसम्मको उपचार निःशुल्क गर्दा थुप्रै बिरामीले राहत पाएका थिए भने केही बिरामी रोग निको भएर घर फर्केका थिए तर बजेट अभावमा उपचार सेवा रोकिएपछि बाँच्ने आशामा उपचारका लागि आएका बिरामी पनि निराश भएर घर फर्कन थालेको अस्पताल प्रशासनका बालकुमारी कोजूले बताइन् ।

औषधि कित्र र सामान्य उपचारसमेत गर्न नसक्ने गरिब बिरामी अहिले धेरै मर्कामा परेको बताउँदै कोजूले रुकुम, रोल्पा, सिन्धुपाल्चोकजस्ता दुर्गम जिल्लाबाट आउने गरेका बिरामी उपचारै नगरी फर्कन थालेको जानकारी दिइन् ।

पहुँचवाला कतिपय धनी व्यक्तिले पनि सिफारिस लिएर आउने र यो सेवा लिने गरेको पाइएकाले यसको दुरुपयोग रोकेर नितान्त गरिब तथा विपत्रलाई मात्र यो सेवा दिन सरकारले व्यवस्था गर्नुपर्ने अस्पतालले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>