समाचारशनिबार, आश्विन २०, २०६९
प्रधानमन्त्री बन्न दाहालको दौड
१९ असोजमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई भेटेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने अडान छोड्न आग्रह गरेका दाहालले आज नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई भेट्ने कार्यक्रम तय भएको छ । त्यस्तै २० असोजमै उनी नेपाली कांग्रेसका नेताहरुलाई भेटेर छलफलको तयारीमा छन् ।
प्रधानमन्त्री बन्ने विषयमा आफैंले सार्वजनिक अभिव्यक्ति नदिए पनि पछिल्लो समयमा उनले आफ्नै दलका दोस्रो तहका नेताहरुबाट राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले गर्ने आशयको अभिव्यक्ति दिन लगाएका छन् । उनी निकट नेता हरिबोल गजुरेलले १९ असोजमा रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहमतिको सरकारको नेतृत्व दाहालले गर्ने दावी प्रस्तुत गरेका थिए । गिरिजाप्रसाद कोइरालापछिका राष्ट्रिय नेता दाहाल नै भएको दावी गर्दै उनैका नाममा सहमति जुट्ने गजुरेलको भनाइ थियो
विगतमा भएको पाँचबुँदे सहमतिको आधार र संविधानसभाको निर्वाचनपछि एमाओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेकाले अबको पालो कांग्रेसको भन्दै राष्ट्रिय सहमतिको सरकारको दावी गरिरहेको नेपाली कांग्रेसको नेतृत्व स्वीकार्य नहुने एमाओवादीले औपचारिक रुपमै जनाइसकेको छ ।
राष्ट्रपति पनि नेपाली कांग्रेसबाटै भएकाले नेपाली कांग्रेसलाई प्रधानमन्त्री दिन नहुने बताउँदै आएको एमाओवादीले वर्तमान संक्रमणकालीन अवस्थामा ह्वात्तै बढेको राष्ट्रपतिको महत्व अवमूल्यन गर्ने र कांग्रेसलाई प्रधानमन्त्री पनि नदिने रणनीति अख्तियार गरेको छ ।
एमाओवादी अध्यक्ष दाहालको मनसाय पाएसम्म आफू नै प्रधानमन्त्री हुने नभएमा कुनै स्वतन्त्र व्यक्तिका नाममा आफू निकटलाई प्रधानमन्त्री बनाउने रहेको देखिएको छ ।
