समाचारशुक्रबार, आश्विन २४, २०७१
नोवल पुरस्कार बिजेता सत्यार्थीले यसरी नेपाली बचाएका थिए
जसले नेपाली बचाएको रिर्पाेट हिमाल खबरपत्रिकाले (१६–३१ असार ०६१) अंकमा प्रकाशित गरेकाे थियो । रिर्पाेटको पूर्ण विवरणः
बाह्र फर्काइए अठार बेपत्ता
गोण्डा, कर्णेलगञ्जस्थित ग्रेट रोमन सर्कसमा रहेका नेपाली बालिकाहरूमाथि भइरहेको शोषण र यातनाविरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना भएपछि भारतीय अधिकारीहरूले १२ जना बालिकालाई नेपाल फिर्ता गरेका छन् । तर, घर फर्कन आतुर र उद्धारको पहिलो प्राथमिकतामा परेका नाबालिकाहरू भने बेपत्ता पारिएका छन् ।
-रामेश्वर बोहरा, लखनऊमा
१२ असारमा गोण्डा (उत्तरप्रदेश, भारत) बाट १२ बालिकाहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाउँदासम्म मुक्त भएकाहरूलाई ‘हामीलाई फर्काइँदैछ’ भन्ने कुनै जानकारी थिएन ।
त्यसैले उनीहरू उल्टै उद्धार गर्न जाने नेपाली अधिकारीहरू माथि खनिए । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरि प्याकुरेल भन्छन्, “बाटोभरि हामीलाई सरापेर हैरान गरे, पिट्न मात्र बाँकी थियो ।”
भारतीय अधिकारीहरूले सर्कसका बालिकाहरूलाई गैरसरकारी संघसंस्थाको जिम्मामा नछोड्ने बताएपछि प्याकुरेल, वसन्त कनोडियासहित नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सलर ज्योतिप्रसाद अधिकारी ११ असारमा गोण्डा पुगेका थिए ।
तर, घर फर्कन नचाहने बालिकाहरूलार्ई नेपाल पठाइदिएर भारतीय अधिकारीहरूले सर्कसका बालिकाहरू फर्किन चाहँदैनन् भन्ने देखाउन खोजेका छन् । हैन भने अभिभावकले आफैँ आएर फर्काउन खोजेका बालिकाहरूलाई नै उनीहरूले फिर्ता गर्न सक्थे, जो घर जानलाई बिन्तिभाउ गरिरहेका छन् ।
बालिकाहरू नेपाली अधिकारीको जिम्मा लाउँदा गोण्डाका जिल्ला अधिकारी (डीएम) एम ए खानले भनेका छन्, “उनीहरू घर जान मान्दैनन् तैपनि हामीले तपाईँहरूको जिम्मा लगाइदिएका छौँ ।”
हिरासतमा राखिएकी निता लामाबाहेक ११ जना नेपाली बालिकामध्ये १४ वर्षीया सानुमाया लामा र १५ वर्षीया अस्मिता लामाको मात्र उद्धार भएको छ । तर, निशा लामा (११), शर्मिला लामा (११), कल्पना लामा (१३), ठूलीदेवी लामा (१२), प्रमिला गलान र सानीमाया लामा अहिलेसम्म बेपत्ता छन् । यो सर्कसमा रहेका ३० नेपाली बालिकामध्ये थप नौ जनाको अवस्था पनि अहिलेसम्म खुलेको छैन । हराइरहेका बालिकाहरूको खोजबिनका लागि प्रहरीमा उजुरी दर्ता गरिएको छ ।
छोरी लिन यहाँसम्म आएका बिजौनाका सूर्य लामा, विष्णुमाया मोक्तान, जनकबहादुर लामा र ठूलीमाया लामा आ–आफ्ना छोरी फिर्ता लैजान नपाएपछि अहिले लखनऊमा अलापविलाप गर्दैछन् । “दिनरात रुन्छन्, होटलमा राखेर सम्झएको सम्झएकै छु, मान्दैनन्” अभिभावकसँगै बालिकाको उद्धार गर्न आएका नेपाल बाल कल्याण संस्थाका अध्यक्ष खेम थापा भन्छन् । तर, दुई सातादेखि बगिरहेको यिनीहरूको आँसुले भारतीय अधिकारीहरूको मन पगाल्न सकेको छैन ।
नेपाल फर्काइएकामध्ये अधिकांशमा अहिले पनि सर्कस मालिकले दिएका यातनाको छाप प्रस्ट छ । तर, उनीहरू केही पनि बोल्न चाहँदैनन् । सानुमाया, अस्मिता र सोनु मात्र घर फर्किन पाएकोमा केही खुशी देखिन्थे । सर्कस मालिक खानले ‘घर गए पनि तिमीहरूलाई मार्छु’ भनी बारम्बार देखाउने त्रासका कारण उनीहरू अहिलेसम्म त्रसित छन् । मकवानपुरका यी बालिकाहरूलाई अहिले नेपालगञ्जस्थित माइती नेपालमा राखिएको छ ।
यसरी शुरु भएथ्यो अभियान
एक वर्षअघि दलालहरूले ललाइफकाई लगेका बिजौनाका १४ जना बालिकालाई खोज्दै चारजना अभिभावक ३१ जेठमा लखनऊ आएका थिए । उनीहरूसँगै आएका बाल कल्याण संस्थाका खेम थापा, कार्यक्रम संयोजक इन्द्र दाहाल, उपनिर्देशक इन्द्र गुरुङले सर्कसबाट बालिकाहरू छुटाउन धेरै दौडधुप गरे । आफ्ना छोरीलाई सर्कसबाट उद्धार गरी फिर्ता ल्याउन बिजौनाका ११ जना अभिभावकले नेपाल बाल कल्याण संस्थामा लिखित अनुरोध गरेका थिए । थापा भन्छन्, “यही सर्कसमा छन् भन्ने किटान भएपछि अभिभावक लिएर हामी तुरुन्त हिँडिहाल्यौँ, एक दुई महिना ढिलो गरे सर्कस अन्यत्र सर्ने खतरा हुन्थ्यो ।”
यहाँ आइसकेपछि भारतमा बालश्रमविरुद्ध कार्यरत संस्था ‘बचपन बचाओ’ आन्दोलनका प्रतिनिधि र स्थानीय प्रहरी प्रशासनको सहयोगमा उनीहरू १ असारमा गोण्डाको कर्णेलगञ्जस्थित सर्कसमा पुगे । तर, केही कुराकानी हुन नपाउँदै सर्कस मालिक र उनका छोरा रजा खानको इशारामा साङ्घातिक हमला शुरु भयो । नेपाली अभिभावकहरूसँगै भारतीय र अमेरिकी पत्रकारहरू पनि नराम्ररी कुटिए । ‘बचपन बचाओ’ आन्दोलनका अध्यक्ष कैलाश सत्यार्थीको टाउकोमा चक्कु रोपियो र कार्यकर्ता रगताम्मे भए । घटनास्थलमा कर्णेलगञ्ज थानाका इन्चार्ज एसएन सिंहको नेतृत्वमा रहेको प्रहरी टोली मूकदर्शक देखिन्थ्यो । रजा खानले पेस्तोलै तेस्र्याएपछि सबले भागेर ज्यान जोगाए । कार्यक्रम संयोजक दाहाल भन्छन्, “त्यतिखेर के–के भयो केही थाहा पाइएन, ज्यान जोगाउँदैमा ठिक्क भयो, पछि टीभी हेर्दा मात्र थाहा पायौँ ।” भारतीय समाचार च्यानल आजतक ले त्यो घटना खिचेको र प्रसारण पनि गरेको थियो ।
सर्कसबाटै बेपत्ता
ग्रेट रोमन सर्कसमा रहेका नेपाली बालिकाहरूलाई उद्धार गर्न आएकालाई शुरुमा “उनीहरू यहाँ छैनन्, अन्यत्र गइसके” भन्ने देखाउन खोजिएको थियो । आक्रमणको घटनापछि सर्कसमा रहेका नेपाली बालिकालाई सुरक्षाका लागि प्रहरीले आफ्नो नियन्त्रणमा राख्नुपर्ने हो । तर, प्रहरीले उदासीनता देखाएका कारण खानले निशा लामा (११), शर्मिला लामा (११), देवी लामा (१२), दुदुमाया लामा (१२), दिलमाया विक (१२), कल्पना लामा (१३), प्रमिला लामा (१३) तथा सानु लामा (१४) र अस्मिता लामा (१५) लाई बेपत्ता बनाए । आक्रमणको दिन आफ्नै आँखाले बालिकाहरूलाई देखेका खेम थापा भन्छन्, “त्यो दिन केटीहरू त्यहीँ नै थिए । सर्कस मालिकले दिएको झ्ूठो विवरण प्रहरीले पत्याउनुहुँदैन ।”
ग्रेट रोमन सर्कसमा मात्रै तीस नेपाली बालिकाहरू छन् । सर्कसबाट भाग्दा गोण्डा प्रहरीको हिरासतमा पुगेकी निता लामाका अनुसार सर्कसमा राक्सिराङ गाविसका मात्रै १९ बालिकाहरू छन् । तर, १ असारको घटनापछि सर्कस मालिकले तिनलाई पनि गायव बनाएका छन् । भारतमा खानका चार वटा अन्य ठूला सर्कस पनि छन् । तिनमा कम्तीमा पनि एक सयभन्दा बढी नेपाली बालिकाहरू बन्धकका रूपमा नारकीय जीवन बिताइरहेका छन् । तिनीहरूले ग्रेट रोमन सर्कसमा काम गर्ने बालिकाहरूले झ्ैँ ज्यादती र यातना भोग्दै आएका छन् ।
गोण्डाका ‘गुण्डा’
पत्रकार, ‘बचपन बचाओ’ आन्दोलनका कार्यकर्ता र अभिभावक सम्मिलित नेपाली टोलीका सदस्यहरूको ज्यान लिने गरी साङ्घातिक आक्रमण गर्ने फतेह खान तीन वटा रिभल्भर लिएर शहरमा निर्धक्कसँग घुम्छन् । उनी दिनहुँजसो थानामा गएर बिना कसूर हिरासतमा रहेकी नितालाई धम्क्याउँथे । स्थानीय प्रहरी÷प्रशासन र राजनीतिक संरक्षण पाएका खानले लखनऊमा रहेका सर्कस बालिकाका अभिभावक, नेपाली संस्थाका प्रतिनिधि र ‘बचपन बचाओ’ आन्दोलनका कार्यकर्तालाई ‘जहाँ भेटायो त्यहीँ सूट गर्ने’ चेतावनी खुलेआम दिएका छन् । तर, खानप्रति प्रहरीको कुनै प्रतिक्रिया छैन ।
कर्णेजगञ्ज थानाका इन्चार्ज इन्स्पेक्टर एसएन सिंह र गोण्डाका सहायक जिल्ला अधिकारी (एसडीएम) हवल्दार यादवलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने माग गर्दै सत्यार्थी भन्छन्, “त्यसपछि सर्कस मालिकलाई थुन्नुपर्छ ।” गोण्डाका प्रहरी अधिक्षक एसपी अमिताभ ठाकुरले त यो काम जिल्ला अधिकारी (डीएम) को निर्णयमा भर पर्ने भन्दै आफ्नो भूमिकालाई नै पन्छाइदिएका छन् । गोण्डामा हिमाल सँग उनले यति मात्र भने, “डीएमले आदेश नदिएसम्म केटीहरूलाई सर्कसबाट फिर्ता पठाउन मिल्दैन ।” तर डीएम एमए खानको तर्क थियो, “गैह्रसरकारी संस्थाको जिम्मामा बच्चीहरूलाई दिन सकिँदैन ।” सहायक डीएम यादवले सर्कस मालिकलाई संरक्षण दिइरहेको सत्यार्थीको आरोपलाई उनले गम्भीरतापूर्वक नलिनुबाट सर्कसमा नेपाली बालिकाको शोषण चलिरहोस् भन्ने उनको चाहना छर्लङ्ग हुन्छ । डीएमले चाहेका भए सर्कसका सबै बालिकालाई प्रहरी नियन्त्रणमा लिएर आफन्तसँग फिर्ता पठाउन सक्थे ।
यौन शोषण पनि
सर्कसमा पु-याइएका नेपाली बालिकाहरूमाथि यौन शोषण समेत हुने गरेको छ । ११ देखि १५ वर्ष उमेरका यी नाबालिगहरूमाथि भएको यौन शोषण, बलात्कार र अत्याचारका कथा सुन्दा भारतीय वेश्यालयमा बेचिएका नेपाली चेलीहरूका व्यथा भन्दा पनि पीडादायी लाग्छन् ।
सर्कस मालिकको पञ्जाबाट उम्केर आएकी सरिता (नाम परिवर्तन) ले उद्धार गर्न आएका नेपाली प्रतिनिधि र आफ्ना अभिभावकहरूसँग रुँदै भनिन्, “मलाई यहाँ नछाड्नुस्, घरमा लैजानुस् । यहाँ मलाई मार्नै आँटिसके ।” त्यत्तिका मान्छेका अगाडि उनले आफू सर्कस मालिकबाटै बलात्कृत भएको र बारम्बार यौन शोषणमा परेको पीडादायी कथा सुनाइन् ।
‘बचपन बचाओ’ आन्दोलनका कार्यकर्ताले तत्काल उनको स्वास्थ्य परीक्षण गराए । परीक्षणले उनीमाथि एक वर्षदेखि लगातार यौन शोषण हुँदै आएको पुष्टि गरेको छ ।
अहिले १४ वर्षकी सरिताको उमेर त्यतिखेर १३ वर्ष मात्र थियो । उनका अनुसार खानको सर्कसमा रहेकामध्ये अधिकांश बालिकाहरू यौन शोषणको शिकार भएका छन् । सर्कस मालिक र उसको छोराले बालिका बदली बदली बलात्कार गर्ने, अनेक यातना दिने उनले बताइन् । बारम्बारको यौन शोषणबाट चौध–पन्ध्र वर्षका कतिपय बालिका गर्भवती बन्थे ।
तिनलाई खान बाबुछोराले अस्पताल लगेर गर्भ तुहाइदिने गरेको सरिताले बताइन् । भन्छिन्, “बिरामी भएको बेला पनि छाड्दैनन्, नमाने अनेक दुःख दिन्छन् ।” सर्कस मालिकका साथै त्यहाँका कामदारबाट शोषित, पीडित हुने क्रमसँगै यिनलाई प्रहरी अधिकृत र राजनीतिक पार्टीका नेता र ‘ठूलाबडा’ कहाँ पनि सुत्न पठाइने गरिएको छ ।
जान नमाने उनीहरूमाथि सामूहिक बलात्कार गरिन्छ या यस्तै खाले चरम यातना दिइन्छ, जसले गर्दा उनीहरू अह्राएको मान्न बाध्य छन् । ‘बचपन बचाओ’ आन्दोलनका कार्यकर्ता गोविन्द खनाल भन्छन्, “सर्कसको निहुँमा ल्याएर सीधा देहव्यापारमा समेत लगाएको भेटिएको छ ।”
आफ्नै छोरी ‘किन्नुपर्ने’
सर्कसमा काम गर्ने बालिकाहरूको उद्धार कार्य झ्न्झ्न् जटिल हुँदै गएको छ । किनभने सर्कसमा कार्यरत आफ्नै छोरीलाई ‘किनेर’ मात्र घरमा फिर्ता लैजान पाइने फैसला यहाँको अदालतले गरेको छ । अर्थात् छोरीलाई घर फिर्ता लैजान अभिभावकले एक लाख भारतीय रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ ।
प्रहरी
ले अकारण थुनामा राखेको नितालाई आमाको जिम्मा लगाइदिन अनुरोध गरिएपछि गोण्डाको जुनियर जिल्ला अदालतले गरेको फैसलामा भनिएको छ, “सर्कसमा काम गर्ने बच्ची उसको इच्छा अनुरुप घर जान चाहेमा अभिभावकले ५० हजार नगद र ५० हजार बराबरको चल–अचल सम्पत्ति धरौटी राख्नुपर्नेछ ।”
धन्न, भारतमा बालश्रम विरुद्ध कार्यरत संस्था ‘बचपन बचाओ आन्दोलन’ ले निताका लागि धरौटी रकमको व्यवस्था गरिदियो र १२ असारमा उनी हिरासतमुक्त भइन् । तर, स्थानीय प्रशासनले उनलाई नेपाल फर्किने अनुमति दिएको छैन । उनी हाल सोही संस्थाको शरणमा छिन् ।
शोषण र यातना भोगिरहेका बालिकाहरूलाई फिर्ता पठाए आफ्ना धेरै करतुतहरू पर्दाफास हुने खतरा भारतीय अधिकारीहरूले देखेका छन् । उनीहरू सकभर नेपाली बालबालिका भारतमै रहिरहुन् भन्ने ध्याउन्नमा छन् । त्यसैले सत्यार्थी शोषणमा राखिएका बालिका उद्धारका लागि माथिल्लो अदालतमा नपुगी नहुने निष्कर्षमा पुगेका छन् । उनी भन्छन्, “यो सरासर नेपाली बच्चीहरू कहिल्यै नेपाल फर्किन नपाउन् भनी गरिएको षड्यन्त्रमूलक निर्णय हो । हामी यो निर्णय उल्टाउने तयारीमा छौँ ।”
बालिकाको उद्धार गर्न कसिने नेपाल बाल कल्याण संस्थाका पदाधिकारी र यहाँ आएका अभिभावकको ज्यान जोखिममा पर्दासमेत नेपालका सरकारी निकाय र मानव तथा बालअधिकारवादीहरू चुपचाप बसे । बरु, भारतको ‘बचपन बचाओ’ आन्दोलनका नेता र कार्यकर्ताहरू यसमा होम्मिएर लागे । खानले गायब पारेका सबै नेपाली बालिकालाई आफ्नो जिम्मा दिनुपर्ने, गोण्डाका सहायक जिल्ला अधिकारी र प्रहरी प्रमुख विरुद्ध कारबाही हुनुपर्ने तथा देशभरि रहेका सर्कसमा रहेका नेपाली बालिकालाई घर फिर्ता गराउनका लागि भारतीय सरकारले तुरुन्त छानबिन गर्नुपर्ने माग गर्दै आन्दोलनका नेता र कार्यकर्ताहरूले ४–९ असारमा लखनऊस्थित विधानसभा भवनको अघिल्तिर धर्ना दिए । सत्यार्थीले त भोकहड्ताल नै गरे । भारतीय पत्रकार कुलदीप नैयर, ख्यातिप्राप्त कलाकार शबाना आजमी, नन्दिता दास र एक्शन एड (भारत) का ‘कन्ट्री डाइरेक्टर’ हर्ष मण्डारले पनि नेपाली बालिकाहरूलाई सर्कसको पिण्डबाट मुक्त गर्न आ–आफ्नो ठाउँमा आवाज उठाए ।
झ्ूठो आश्वासन
यसअघि उत्तर प्रदेश प्रान्तीय सरकारका श्रम राज्यमन्त्री कौशलकिशोरले सर्कसमा रहेका नेपाली बालिकाहरूलाई अभिभावकको जिम्मा लगाइने र भारतमा रहेका सर्कसहरूको लाइसेन्स रद्द गर्नका लागि पनि आफूले मुख्यमन्त्रीसँग कुरा राख्ने आश्वासन दिएका थिए । ६ असारमा लखनऊ विधानसभा भवनबाहिर हिमाल संवाददातासँग उनले भने, “म आजै यसमा काम गर्छु ।” उनले ग्रेट रोमन सर्कस काण्डमा संलग्न एसडीएम, एसपी लगायत सबैलाई कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरे । सम्भवतः यो उनले अनशन र धर्नाकारीलाई आश्वासनको जाल मात्र फालेका थिए । किनभने अहिलेसम्म संलग्न अधिकारीमाथि कुनै पनि कारबाही थालिएको छैन ।
बल्ल चेत खुल्यो
गाउँकै दलाल किट्टा भन्ने कृष्णबहादुर मोक्तान र बाबुलाल तामाङले पैसाको लोभ देखाएर छोरीलाई पढाइदिने आश्वासन पनि दिएपछि एक वर्षअघि छोरीलाई सर्कसमा पठाउन मञ्जुरी दिएका सूर्य लामा अहिले पछुताउँदै छन् । भारतमा मकै छर्न जान लागेको भनी दलालले सिकाएबमोजिम बोर्डरमा ढाँटेर उनले छोरीलाई सर्कसमा पु¥याएका थिए ।
“गरीबी र अशिक्षाले यस्तो भयो !” उनी पछुताउँदै भन्छन् । तर उनी अब गाउँमा आफूले जस्तो गल्ती कसैलाई गर्न नदिने बताउँछन् । आफैँले छोरीलाई सर्कससम्म पु¥याए पनि छोरीले भोग्नु परेको ज्यादती, पीडा र दुःख सुनेपछि बिजौनाका ११ बालिकाका अभिभावकहरू आफैँलाई धिक्कार्दैछन् । विष्णुमाया भन्छिन्, “यस्तो होला भन्ने थाहा थिएन, हामीलाई त पैसाको मात्र लोभ थियो ।”
दलालले दिनको कम्तीमा सय रुपैयाँ भारु आउँछ, बोर्डिङमा पढाइदिन्छु भनेर फकाएपछि बाबुआमा मख्ख परेका थिए । “तर यहाँ महिनाको सय रुपैयाँ पनि दिँदो रहेनछ,” जनक लामा भन्छन्, “आफ्नै छोरी बेच्ने हामी पापी हौँ ।” उनले पनि छोरी कल्पनालाई आफैँँ बोर्डर कटाएर सर्कससम्म ल्याएका थिए ।
कति छन्, कति फर्किए ?
भारतका सबै सर्कसमा नेपाली बालिकाको सङख्या कति छ भन्ने यकिन छैन । ‘बचपन बचाओ’ आन्दोलनले गरेको एक सर्वेक्षण अनुसार भारतका ठूला आकारका ३५ वटा सर्कसमा मात्र १४ सय नेपाली बालबालिकाहरू छन् । एउटा सर्कसमा सरदर ४० जना नेपाली बालिकाहरू छन् । तर अन्य साना सर्कसमा हुनेहरूको सङ्ख्या अज्ञात छ । यसबाहेक १८ वर्षभन्दा माथिका केटीहरू पनि थुप्रै छन् सर्कसमा, जो झ्न् बढी यौन शोषणको शिकार भएका छन् । उनीहरू पनि शुरुमा सर्कसमा आउँदा त १२÷१३ वर्षकै थिए ।
केरला प्रदेशमा रहेको किङ भारत सर्कसबाट अघिल्लो महिना मात्र ३० नेपाली बालिकालाई उद्धार गरियो । त्यतिखेर नेपाल बाल कल्याण संस्थाको पहलमा उनीहरूलाई सर्कसबाट उद्धार गरी घर फिर्ता ल्याइएको थियो । दाहालका अनुसार, लखनउमा पनि त्यस्तै स्थिति छ । “१२ बालिका त छुटे तर अरूको अवस्था अज्ञात हुनु भनेको ठूलो समस्या बाँकी नै रहनु हो,” उनी भन्छन्, “त्यसका लागि अझ् ठूलो दबाबको खाँचो छ ।”





