समाचारशुक्रबार, आश्विन ३१, २०७१
संविधान जलाउनेदेखि सिंहदरवार भत्काउनेसम्मको धम्की
काठमाडौंको खुल्ला मञ्चमा ३१ असोजमा आयोजित आमसभामा बोल्दै नेताहरुले शान्तिपूर्ण जनविद्रोह गर्ने घोषणा गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २२ दलीय मोर्चाको नेता बनेर जनविद्रोह गर्न तयार रहेको घोषणा गरे । उनले उच्च स्तरीय राजनीतिक समिति भन्दा जनविद्रोहको नेतृत्व गर्न तयार रहेको बताए ।
संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले पहिचान विरोधी कांग्रेस एमालेलाई यो आन्दोलनले कठालोमा समातेर पछार्ने बताए । उनले भने, ‘‘इतिहासमा सँधै जनताले जित्दै आएका छन्, अव कांग्रेस एमालेलाई पछार्ने दिन नआओस् । यसबाट सचेत हुन उनीहरुलाई आग्रह गर्छु ।’’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बहुमतबाट कांग्रेस एमालेले ल्याउने संविधान जलाउने चेतावनी दिए । उनले जातीय क्षेत्रीय मुक्तिबिनाको संविधान नमान्ने बताए । मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस एमालेको जालझेल विरुद्ध जनविद्रोह गर्ने चेतावनी दिए ।
संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सिंहदरबार भत्काउनुपर्ने बताए । उनले ताप्लेजुङको कुरा नसुन्ने सिंहदरवारको आवश्यकता नभएको बताए ।
अन्य दलका नेताहरुले पनि विद्रोहमार्फत कांग्रेस एमालेलाई घुडा टेकाउने चेतावनी दिएका थिए । २४ असोजबाट थालेको मोर्चाको पहिलो चरणको आन्दोलन ३१ असोजमा सकिएको छ । मोर्चामा संविधानसभाभित्र र बाहिरका दलहरु संलग्न छन् ।
