समाचारमंगलबार, कार्तिक ४, २०७१
भारतसँग पीटीए सम्झौतामा अन्तिम हस्ताक्षर
४ कात्तिकमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा नेपालका उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय उर्जा सचिव प्रदीपकुमार सिन्हाले सम्झौतामा अन्तिम हस्ताक्षर गरेका हुन् ।
यसअघि दुबै सचिवबीच १९ भदौमा भारतको नयाँ दिल्लीमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई दुवै देशका मन्त्रिपरिषदले अनुमोदन गरेपछि ४ कात्तिकमा अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा हस्ताक्षरपछि भारतीय उर्जा सचिव प्रदीपकुमार सिन्हाले नयाँ युगको शुरुवात भएको भन्दै सम्झौताले नेपाल र भारतमा उर्जा विकासका लागि ठूलो अवसरको सृजना गरेको बताए ।
त्यस्तै नेपालका उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले नेपाल र भारतबीच भएको सम्झौता दुई देशका लागि मात्र नभई यसले क्षेत्रीयस्तरमै विद्युत व्यापारको नयाँ अवसरे सृजना गरेको बताए ।
२५ वर्षका लागि भएको सम्झौता कार्यान्वयनका लागि दुवै देशका सचिव र सहसचिवस्तरका समिति बनाएर वर्षमा कम्तिमा पनि दुईपटक छलफल गर्ने उल्लेख छ ।
कुनै पक्षले सम्झौता तोड्न चाहेमा १० वर्षपछि तीन महिनाको पूर्व सूचना दिएर सम्झौता तोड्न सकिने प्रावधान पनि सम्झौतामा छ ।
