समाचारमंगलबार, कार्तिक ४, २०७१
गोकर्णमा छलफल, जुटेन सहमति (तस्वीरसहित)
नयाँ बन्ने संविधानमा देखिएका विवादित विषयमा सहमति खोज्न प्रमुख तीन दलका शीर्ष नेता काठमाडौंको गोकर्ण रिसोर्टमा पुगेका हुन् । दुईदिने आवासीय छलफलका लागि गोकर्ण रिसोर्टमा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताको ४ कात्तिकमा बसेको बैठक कुनै निष्कर्षमा नपुगेको नेताहरुले बताएका छन् ।
बैठकमा सहमति हुन नसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेल बैठकस्थलबाट बाहिरिएका छन् । बैठकका लागि अन्य शीर्ष नेताहरु बिहान १० बजे नै गोकर्ण पुगे पनि एमाले अध्यक्ष केपी शर्मा ओली भने अपराह्न ३ बजे मात्रै पुगेका थिए ।
औपचारिक बैठक तीन बजे शुरु भए पनि त्यसअघि नेताहरुले अनौपचारिक छलफल गरेका थिए । विवादित विषय राज्य पुनःसंरचना, शासकीय स्वरुप तथा न्याय र निर्वाचन प्रणालीका विषयमा दलबीच यसअघि पटकपटक वार्ता र छलफल भए पनि सहमतिका लागि कुनै प्रगति नभएपछि निर्णायक छलफलका लागि दलहरु दुई दिनसम्म बसेर भए पनि सहमति खोज्न गोकर्ण पुगेको बताइएको छ ।
निर्णायक छलफल भनिएको बैठकमा मात्र होइन रिसोर्टभित्रसमेत सञ्चारकर्मीलाई निषेध छ । बैठक ५ कात्तिकमा पनि बस्नेछ ।
तस्वीरहरुः आनन्दराम डंगोल




