समाचारशुक्रबार, कार्तिक ७, २०७१
नुवाकोट दुर्घटना: मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)
नुवाकोटको बेलकोट ती-गाउँस्थित अर्कोटे भीरमा ७ कात्तिकमा बा २ ख २२६६ नम्बरको बस सडकबाट १५० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६८ जना घाइते भएको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार घाइतेको उद्धार गरी काठमाडौं र विदुरस्थित जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमध्ये नुवाकोट दाङसिंङ–४ की ३५ वर्षीय बिमला तामाङ, गेर्खु–९ बेत्रावतीकी १२ वर्षीया करिना श्रेष्ठ, मनमैजु ८ काठमाडौंकी नानीमैया तिवारी र उनकी छोरा प्रशान्त तिवारी, रसुवा भोर्ले–५ का राधा थिङ, भोर्लेकै लक्ष्मी घलान तथा महेश घलान र ओखलढुंगा पात्ले–७ का ५४ बर्षीय बलबहादुर सुनुवारको सनाखत भएको छ ।
————————————————————————————————————————————————
नुवाकोटको बेलकोट ती-गाउँस्थित अर्कोटे भीरमा बा २ ख २२६६ नम्बरको बस सडकबाट १५० मिटर तल खस्दा कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै करिब ५५ जना घाइते भएका छन् ।
५२ जना घाइतेको उद्धार गरी काठमाडौं र विदुरस्थित जिल्ला अस्पतालमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन् ।
९ जनाको घटनास्थलमा, १ जनाको त्रिशुली अस्पताल र २ जनाको उपचारका लागि काठमाडौं लैजादै गर्दा मृत्यु भएको पासाङ् ल्हामु यातायात सेवा समितिका महासचिव एवम् उद्धार समितिका संयोजक रवि रिमालले जानकारी दिएका छन् ।
सडकबाट निकै तल भीरमा खसेको बस नराम्रोसँग कुच्चिएकोले बसभित्रै थिचिएर मृत्यु हुनेको संख्या धेरै हुनसक्ने उनले बताए । मृत्यु हुनेमा २ जना इजरायली नागरिकसहित अन्य १ विदेशी समेत छन् । रिमालका अनुसार बसमा यात्रा गर्नेमध्येमा ट्रेकिङ्का लागि जाँदै गरेका करिब ९ जना विदेशी समेत थिए ।
बसमा गाडिधनी कविन्द्रलाल श्रेष्ठ परिवारसहित यात्रा गरिरहेका थिए । श्रेष्ठ घाइते छन् भने उनकी छोरीको मृत्यु भएको भन्ने खबर अाफूले भर्खरै पाएको अस्पतालमा रहेका रिमालले बताए । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुली, मेघा अस्पताल, जनमैत्री अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं लगिएको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीय बासिन्दाद्वारा उद्धार कार्य भइरहेको छ ।
पासाङल्हामु राजमार्गको भिरबाट करिब १५० मिटर तल बस खसेको हो । साँघुरो र बिग्रेको सडकमा ‘ओभरलोडेड’ बस दुर्घटना भएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । उनले घाइतेहरुको उद्धारका लागि हेलिकोप्टरसमेत परिचालन गरिएकोे जानकारी दिए ।

