समाचारशनिबार, कार्तिक ८, २०७१
प्रधानमन्त्री र नेताहरूले भाइटीका लगाए
८ कात्तिक बिहान ११ः३५ बजेको शुभसाइतमा प्रधानमन्त्री सुशील कोइरालाले दिदीलाई सौभाग्य सामग्री र दक्षिणा प्रदान गरेर आशीर्वाद लिए भने दिदी अभादेवीले भाइलाई कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृ वात्सल्य प्रस्तुत गरिन् ।
यसैगरी, उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले ललितपुरको भैंसेपाटीस्थित आफ्नै निवासमा माया केसी सहितका पाँचैजना दिदी बहिनीबाट टीका लगाए ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बोहोराटारस्थित आफ्नो आवासमा जेठी बहिनी कृष्णकुमारी आचार्यबाट ११ः३५ बजेको शुभसाइतमा टीका लगाएर आशीर्वाद लिए ।
त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस केन्द्रीय सदस्य मीना पाण्डेबाट टीका लगाए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुपन्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा दिदी कालिका भण्डारी र बहिनी वसुधा पोखरेलबाट टीका लगाए ।
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले सानेपा पुगेर बहिनी मीनु कार्कीबाट टीका लगाए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विशालनगरस्थित आफ्नै घरमा बहिनीहरू रीता थापा, वसु कार्की र मिन्टु विष्टबाट टीका लगाएका छन् ।
