समाचारसोमबार, कार्तिक १०, २०७१
संविधानका विवादित विषयमा कांग्रेस र एमालेको धारणा समान
प्रधानमन्त्री निवास बालुवाटारमा १० कात्तिक साँझ बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले सहमतिका लागि हालसम्म भएका वार्ता र छलफलको समीक्षा गर्दै समान धारणाका साथ छलफललाई निर्णायक बनाउने सहमति गरेको छ ।
संविधानसभाले यही १५ कात्तिकसम्म निर्णायक सहमति गर्न दिएको अवधिलाई ध्यानमा राख्दै एमाओवादीसँग थप छलफल गर्ने र सहमति नभए अन्य विकल्पमा जाने निर्णय भएको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।
“दुई दलका आधारभूत मान्यता समान रहेकाले संविधानका विवादित विषयमा दुई दलबीच समान धारणा बनाएर अघि बढ्ने र एमाओवादीसँग निर्णयक छलफल गरी चाँडो निष्कर्षमा पुग्ने सहमति भएको छ,” उनले भने ।
उनका अनुसार बैठकमा ५ देखि ७ प्रदेश बनाउने, एकल जातीय पहिचान अस्वीकार गर्ने, मिश्रित समानुपातिक निर्वाचन प्रणालीमा थ्रेस होल्डको ब्यवस्थासहित जाने, स्थायी संबैधानिक अदालत नबनाउने र सुधारिएको संसदीय ब्यवस्थामा जाने विषयमा करिब करिब साझा धारणा बनेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालासहित उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यद्वय रामशरण महत र नरहरि आचार्य तथा एमालेतर्फबाट अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल र मुख्य सचेतक अग्नि खरेल सहभागी थिए ।

