समाचारमंगलबार, कार्तिक ११, २०७१
नेपाल र अमेरिकाबीचको खेल अवरुद्ध
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको छ । अमेरिकाले प्रस्तुत गरेको २२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२ ओभर खेल्दै १ विकेटको क्षतिमा ७३ रन जोडेको छ ।
नेपालका सुवास खकुरेल ४९ र ज्ञानेन्द्र मल्ल २२ रन बनाएर खेलिरहेका छन् । नरेश बुढाएर भने रन नै नबनाइ आउट भए ।
वर्षाका कारण आज पनि खेल छोट्याएर खेलाइने संभावना छ । २० ओभरभन्दा बढी नेपालले खेलिसकेकाले खेल रद्द हुने छैन ।
यही अवस्थामा खेल सकिएमा डीएल मेथड अनुसार नेपालले जित्ने संभावना बढी छ ।
————————————————————————————————————————————————
नेपाललाई अमेरिकाद्वारा २२४ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत अमेरिकाविरुद्ध पुनः भएको खेलमा नेपालले २२४ रनको लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङ रोजेको अमेरिकाले सबै ओभर खेल्दै ९ विकेटको क्षतिमा २२३ रन बनाएको छ ।
नेपालका शक्ति गौचनले ३ विकेट झारे । बसन्त रेग्मी र सागर पुनले समान दुई–दुई विकेट लिए । दुई अमेरिकन ब्याट्सम्यान रनआउट भए ।
हिजोमा खेलमा अमेरिकाले ४७.३ ओभर खेल्दै २०४ रन बनाएको थियो ।
————————————————————————————————————————————————–
नेपाल र अमेरिकाको भिडन्त भोलि
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत १० कात्तिकको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फेरि अमेरिकाको सामना गर्नुपर्ने भएको छ । वर्षाले दुई पटक अवरोध पुर्याएपछि नेपाल र अमेरिकाबीचको खेल रद्द भएको हो ।
अब ११ कात्तिकमा फेरि नेपाल र अमेरिकाबीच खेल हुनेछ ।
रद्द भएको खेलमा अमेरिकाले २०५ रनको लक्ष्य दिएको थियो । ४७.३ ओभर खेल्दै अमेरिकाले २०४ रन बनाएको थियो ।
तर, नेपालले जवाफी ब्याटिङ गर्न नपाई नै वर्षाले अवरोध गरेपछि खेल ३० ओभरमा छोट्याइयो र नेपालले १६२ रनको नयाँ लक्ष्य पायो ।
लक्ष्य पछ्याउने क्रममा नेपालले ७ ओभरमा ३ विकेट गुमाउँदै २७ रन बनाएको स्थितिमा फेरि पानी परेपछि खेल रद्द भएको हो ।
——————————————————————————————————————————————-
नेपाललाई अमेरिकाद्वारा २०५ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपालले अमेरिकाविरुद्ध २०५ रनको लक्ष्य पाएको छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत आफ्नो चौंथो खेलमा नेपालले अमेरिकाको सामना गरिरहेको छ । मलेशियामा जारी खेलमा अमेरिकाले ४७.३ ओभर खेल्दै २०४ रन बनायो ।
टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । शक्ति गौचन, सागर पुन र बसन्त रेग्मीले २–२ विकेट झारे ।
मलेशियामा चलिरहेको प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिम आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा छनौट हुनेछन् । प्रतियोगितामा नेपालसहित युगान्डा, अमेरिका, मलेशिया, सिंगापुर र बर्मुडा सहभागी छन् ।
तीन खेल जितेर युगान्डा शीर्षस्थानमा छ भने दुई खेल जितेको नेपाल दोस्रो स्थानमा छ । प्रतियोगितामा नेपालको नेट रनरेट राम्रो छ ।
तर, डिभिजन २ मा सजिलैसँग छनौट हुन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ ।

