समाचारमंगलबार, कार्तिक ११, २०७१
नेपाली वैज्ञानिकसहितको टोलीले नयाँ रक्तनली उत्पादन गर्ने प्रविधि पत्ता लगायो
अमेरिकाको इन्डियाना युनिभर्सिटी स्कुल अफ मेडिसिन अन्तर्गतका वैज्ञानिक अनुसन्धानकर्ताको समूहले यस्तो प्रविधि विकास गर्न सकिने नयाँ तथ्य सार्वजनिक गरेको हो । अनुसन्धानको नतिजा युनिभर्सिटीको बायोटेक्नोलोजी जर्नलमा प्रकाशित भएको छ ।
टोलीले लामो समयसम्म गरेको अनुसन्धानले चिकित्सा विज्ञानका क्षेत्रमा नयाँ उपलब्धि हासिल गरेको हो । यो प्रविधिले अन्धोपन तथा अङ्गछेदन हुनबाट रोक्न सकिने वैज्ञानिक डा. प्रसार्इंले बताए ।
अब यो प्रविधिले खुट्टाको खासगरी तल्लो भागमा रगतको प्रवाह बढाउन र अन्धोपनबाट बिरामीलाई बचाउन सहयोग पुर्याउन सकिने विश्वास गरिएको छ ।
विशेषगरी खुट्टामा हुने रक्तनलीमा बोसो जस्तो पदार्थको सङ्कलनबाट रक्त प्रवाहमा अवरोध आउन सक्छ । लामोसमयसम्म अवरोध भएमा मानव शरीरमा सुरुको अवस्थामा खुट्टा निदाउने र आराम गरेको अवस्थामा पनि खुट्टा दुख्ने गर्दछ ।
यो प्रविधि ५० वर्षभन्दा माथिका धुम्रपान गर्ने र मधुमेहका समस्या भएकाका लागि महत्वपूर्ण हुने अध्ययनले देखाएको उनले बताए । मानव शरीरमा एन्दोथेलिअलसेल नामक सेलले रक्तनली बनाउने काम गर्छ ।

