समाचारबुधबार, कार्तिक १२, २०७१
विवादित विषयमा एमाओवादीले लचकता अपनाउने
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको पदाधिकारी र उपत्यकामा उपलब्ध नेताहरुको बैठकले विवादित विषयमा लचक हुने निर्णय गरेको छ ।
८ माघमै सहमतिमा संविधान जारी गर्न कांग्रेस एमालेलाई पनि लचक हुन एमाओवादीले आग्रह गरेको छ । एमाओवादीले १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र अन्य सहमतिका आधारमा सहमतिमै संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘एमाले सरकार परिवर्तनतिर लाग्यो’
बैठकले संविधान निर्माण भन्दा पनि सरकार परिवर्तनमा एमाले लागेको निष्कर्ष निकालेको छ । एमाओवादी सचिव बर्षमान पुनले भने, ‘‘बैठकबाटै एमालेलाई सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गरेका छौं ।’’
एमालेले राखेको चार प्रदेशको प्रस्तावले सहमतिको यात्रालाई बिगार्ने भएकाले विगतको प्रतिबद्धतालाई आत्मसात् गर्न समेत एमालेलाई आग्रह गरेको उनले बताए ।
बैठकमा पार्टी अध्यक्ष दाहाल र संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा पार्टी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरूबीच छलफलबाट अहिलेसम्म कुनै प्रगति नभएको जानकारी गराएका थिए । रासस
