समाचारबुधबार, कार्तिक १२, २०७१
प्रक्रिया पूरा गरेर मात्र गाडी भाडा बढाउन निर्देशन
उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले प्रक्रिया पूरा गरेर मात्र गाडी भाडा बढाउन सरकारलाई निर्देशन दिएको छ । उपसमितिको १२ कात्तिकमा बसेको बैठकले सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम प्रक्रिया पूरा गरेर मात्र भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको हो ।
भाडा वृद्धि गर्न पूरा गर्नुपर्ने प्रक्रियाहरू बाँकी नै रहेका देखिएको उपसमितिको ठहर छ । उपसमितिले १० कात्तिकमा दिएको निर्देशन अनुसार प्राविधिक एवम् सरोकारवालाको प्रतिवेदन प्रस्तुतिपछि मात्र निर्णय गर्न सरकारलाई निर्देशन दिएको समितिका संयोजक सुवासचन्द्र शाह ठकुरीले जानकारी दिए ।
बैठकले सवारी ऐनमा भएको दण्डजरिवानाको व्यवस्था, सवारी चालक अनुमतिपत्र, यात्री सेवा तथा सुरक्षाजस्ता विषयमा पनि सुधार गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीहरूको लगानी, यात्रुका सुविधासमेतलाई दृष्टिगत गरी मन्त्रालय, विभाग र व्यवसायीहरूले जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा समितिको जोड छ ।
मूल्यवृद्धिको औचित्य पुष्टि नभएकाले थप अध्ययन गर्न पनि उपसमितिले निर्देशन दिएको ठकुरीले जानकारी दिए ।
रासस
