समाचारशुक्रबार, कार्तिक १४, २०७१
सहमतिका लागि एक दिन बाँकी
बाबुराम भट्टराई सभापति रहेको वैधानिक राजनीतिक संवाद तथा सहमति समितिको १४ कात्तिकमा सिंहदरबारमा बसेको बैठकमा संविधानका प्रमुख विवादित विषयमा छलफल भए पनि कुनै सहमति हुन सकेन । संविधानसभाले विवादित विषयमा सहमति जुटाउन दिएको समयसीमा पूरा हुन अब एक दिन मात्रै बाँकी छ ।
शीर्ष नेतृत्वमा नै छलफल गर्नुपर्ने भन्दै सभासद्ले माग गरेपछि बैठकमा कुनै पनि विषयमा ठोस छलफल नभएको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिए । हालसम्म अनौपचारिक तथा औपचारिक छलफलका बारेमा बैठकमा जानकारी गराइएको तर दलगत अडानका कारण कुनै निष्कर्ष निस्कन नसकेको उनले बताए ।
सहमति हुने सम्भावना नरहेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा भट्टराईले सभासद्सँग छलफल गरेका थिए ।
संविधानसभाले समितिलाई सहमति जुटाउन चार पटक म्याद थप गरिसकेको छ । पछिल्लो पटक १५ कात्तिकसम्म अन्तिम पटक भन्दै समय थप गरेको थियो ।
बैठकपछि सभासद् लक्ष्मणलाल कर्णले भने सहमति भए सहज हुने र सहमति नभएको खण्डमा के गर्ने भन्ने विषमया समान धारणा नआएको जानकारी दिए ।
‘‘कार्यतालिकाअनुसार सहमति नभएका विषयलाई प्रश्नावली बनाउनुपर्ने हो, सहमति पनि भएको छैन, समय पनि छैन यस्तो अवस्थामा शनिबारको बैठकमा ठोस निर्णय गरिन्छ’’ सद्भावना पार्टीका सहअध्यक्ष कर्णले भने ।
