समाचारसोमबार, कार्तिक १७, २०७१
अबदेखि दिनभर नै राहदानी सेवा
केन्द्रीय राहदानी विभागले १७ कात्तिकदेखि दुई सत्रमा सेवा दिन थालेको छ । प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको सिफारिशमा विभागले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने दुई शत्रमा ध्येयका साथ दुई सत्रमा कार्यालय सञ्चालन गरेको हो ।
विभागले हरेक दिन बिहान सात बजेदेखि १२.३० सम्म टोकन वितरण गर्ने र टोकन पाउनेलाई सोही दिन सेवा दिने भएको छ ।
विभागले दैनिक करिब चार हजार जनालाई सेवा प्रदान गर्दै आएको छ । हाल सामान्य अवस्थामा रु.५ हजारमा र तत्कालका लागि रु.१० हजारमा राहदानी पाउन सक्ने व्यवस्था छ ।
सन् २०१० डिसेम्बर २६ देखि यन्त्रले पढ्ने राहदानी (एमआरपी) वितरण शुरु गरेकामा सन् २०१४ को सेप्टेम्बरसम्म २४ लाख ४२ हजार नेपालीले यस्तो राहदानी प्राप्त गरिसकेका छन् ।
हालसम्म करिब १० लाख हस्तलिखित राहदानी विस्थापित भइसकेका छन् भने अझै १५ लाख राहदानी हस्तलिखित छन् । अन्तर्राष्ट्रिय हवाई उड्डयन सङ्गठनका अनुसार सन् २०१५ को नोभेम्बरपछि यन्त्रले पढ्ने राहदानी नलिएकालाई कुनै पनि मुलुकको भ्रमण गर्न नपाउने व्यवस्था गरेका कारण एमआरपी लिनैपर्ने बाध्यता रहेको छ ।
हाल दैनिक पाँच हजार राहदानी तयार गर्न सक्ने विभागको क्षमता रहेको भएपनि जनशक्ति तथा स्रोतसाधनको अभावमा प्रभावकारी काम हुन नसकेको भन्दै प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटाले तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।
संयोजक बाँस्कोटाले राहदानी लिन नागरिकता, तस्बिर, फारम, पुरानो राहदानी र जिल्ला प्रशासन कार्यालयको सिफारिश चाहिने स्थितिलाई सरलीकरण गरी एकद्वार पद्धति लागू गर्नसमेत जोड दिएका छन् ।
१७ कात्तिकदेखि हरेक दिन बिहान सात बजेदेखि साँझ ६.३० बजेसम्म राहदानी वितरणको काम दुई सत्रमा सञ्चालन हुने र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गरिने विभागको भनाइ छ ।
रासस
