समाचारसोमबार, कार्तिक १७, २०७१
सहमति गर्ने समय भयोः सभामुख
संविधानसभा अध्यक्ष सुवास नेम्बाङले दलहरुबीच विवादित विषयमा सहमति गर्ने समय भएको बताएका छन् । विभिन्न ११ विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र १७ कात्तिकमा ग्रहण गर्दै उनले दलहरुले लामो समय छलफलमा बिताइसकेकाले अब तत्काल निर्णय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने, “अब दलहरुले तत्कालै सहमति कायम गरेर ८ माघमा संविधान जारी गर्न लाग्नुपर्छ ।” उनले दलहरुले विवादित विषयमाथिको गाँठो फुकाउन धेरै समय लगाएको टिप्पणी गरे ।
“औपचारिक र अनौपचारिक छलफल गर्दा दुई घन्टामा निर्णय गर्ने बताए पनि नेताहरुले अझै निर्णय गर्न नसक्नु दुःखद् हो,” उनले भने ।
उनले विवाद समाधान गर्न अप्ठ्यारो परे जनतालाई छिनोफानो गर्न दिनुपर्नेमा जोड दिए । उनले भने, “विवाद समाधान परेको अप्ठ्यारो जनतालाई छिनोफानो गर्न दिनुपर्छ, जनतलाई त्यो अप्ठ्यारो भन्नुपर्छ ।”
रासस
