समाचारआइतबार, आश्विन २१, २०६९

प्रधानमन्त्रीले देशमा ‘कू’ गरेः सभापति कोइराला

हिमालखबर

धादिङ्मा जारी ७५ जिल्लाका युवा छात्राहरूको भेला तथा प्रशिक्षण कार्यक्रमको २१ असोजमा उद्घाटन गर्दै सभापति कोइरालाले राजनीतिक दलहरूलाई झुक्याई संविधानसभा विघटन गरेर प्रधानमन्त्रीले देशमा संवैधानिक सङ्कट निम्त्याएको र त्यो संवैधानिक कू नै भएको बताए । कोइरालाले एमाओवादीले देशमा सर्वसत्तावाद लागू गर्न खोजेका कारण अन्यौलपूर्ण अवस्था सिर्जना भएको पनि ठोकुवा गरे ।

नेपाली कांग्रेसका तीन नेताबीच मतभेद रहेको भन्ने हल्ला सत्य नभएको दावी गर्दै सभापति कोइरालाले  एमाओवादीले नै हल्ला फैलाएको दाबी गरे । कार्यक्रममा तीनै जना शीर्ष नेताले हात मिलाई एकताको सन्देश दिएका थिए ।

कार्यक्रमका अर्का सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएको बेला डा बाबुराम भट्टराईले ४० बुँदे माग पेस गरी १५ हजारभन्दा बढी निर्दोष नेपाली नागरिकको हत्या गराएको स्मरण गर्दै भने, “अहिले तिनै बाबुराम प्रधानमन्त्री हुनुहुन्छ, किन ति माग पूरा गर्न सक्नु हुन्न, झुटको खेती गर्न माहिर एमाओवादीको शब्दजालमा नपर्न आग्रह गर्दछु ।”

नेता देउवाले माओवादी सुध्रिन्छ कि भनेर नेपाली काँग्रेसले विगतदेखि नै प्रजातान्त्रिक मूलधारमा ल्याउने अथक प्रयास गरेको बताउँदै सहमतिको विकल्प नरहेको स्थितिमा एमाओवादी सच्चिनु आवश्यक रहेको बताए ।

उपसभापति रामचन्द्र पौडेलले  एमाओवादीले जबर्जस्ती नेपाली कांग्रेसलाई सङ्घीयताविरोधी देखाउन खोजिरहेकाले सबैलाई सचेत रहन आग्रह गरे । “स्थापनाकालदेखि नै कांग्रेस प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्ष गरिरहेको नेपालीले देखेका र बुझेका छन्, त्यस्तो लोकतन्त्रको पक्षधर पार्टी लोकतन्त्र र सङ्घीयताविरोधी पार्टी हुनै सक्दैन,” पौडेलले भने ।

त्यस अवसरमा एमाओवादी, एमाले, राप्रपा पार्टी परित्याग गरी नेकामा प्रवेश गर्ने दुई दर्जनभन्दा बढी युवा कार्यकर्तालाई नेकाको सदस्यता समेत प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>