टिप्पणीबुधबार, कार्तिक १९, २०७१
‘मेरै हाकीम बनाउन तयार छु’
डा. कुमुद धितालले डीसीडी हार्ट प्रत्यारोपणबाट विश्व चिकित्सा क्षेत्रमा ठूलो योगदान दिएका छन्। डीसीडी ट्रान्सप्लान्टेशन, त्यो पनि एउटा नेपाली डाक्टरबाट! उनीसँगै नेपालको नाम यो उपलब्धिसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा आयो।
असल मानिस र कुशल चिकित्सक हुन्, उनी। डीसीडी ट्रान्सप्लान्टेशन आफैंमा नयाँ ‘आइडिया’ भने होइन। यसमा धेरै अघिदेखि अनुसन्धान भइरहेको थियो।
एउटा पत्रिकामा उनले नेपालमा काम गर्न चाहेको समाचार पढेको थिएँ। साँच्चै उनी त्यस्तो चाहन्छन् भने हामी उपयुक्त वातावरण बनाउँछौं। म उनलाई आफ्नै हाकीमको रूपमा स्वागत गर्न तयार छु। तर, यहाँ काम गर्न यूरोप वा अष्ट्रेलिया जस्तो सहज छैन, अनेक लफडा र तिकडमसँग जुध्नुपर्छ। हरेक क्षेत्रमा अस्वस्थ राजनीति छ।
अनेकौं झमेलाले काम गर्न नसकेर राम्रा चिकित्सकहरू पलायन भएका छन्। नेपालमा भएको भए डा. कुमुद पनि डीसीडी हार्ट ट्रान्सप्लान्ट गर्ने पहिलो चिकित्सक बन्दैनथे।
तर, विदेशको अवसर छोडेर नेपाल आउनेहरू पनि छौं। विकसित मुलुकको सर्टिफाइड लाइसेन्स नै छोडेर फर्केका डाक्टरहरू पनि छन्। नेपालमा विना अवरोध काम गर्न पाएको भए अहिलेको भन्दा धेरै उपलब्धि हासिल हुन्थ्यो होला।
तर, जे जसरी होस्, देशमै सेवा गर्न पाएकोमा खुशी छौं। डा. कुमुद आए भने नेपाली चिकित्सा क्षेत्रप्रति संसारकै विश्वास बढेर जान्छ। विदेश धाउने नेता र धनाढ्यहरूले पनि यहीं उपचार गराउँथे होलान्।
(कुराकानीमा आधारित)
यो पनि
