समाचारबिहीबार, कार्तिक २०, २०७१

बाल अस्पताल भवनमा प्रहरी पोष्ट

हिमालखबर

दाङको घोराही–१ सर्रामा रहेको बाल अस्पताल भवन, जहाँ अहिले प्रहरी पोष्ट छ। तस्वीरः देविका घर्ती मगर

दाङको घोराही–१ सर्रामा रहेको बाल अस्पताल भवन, जहाँ अहिले प्रहरी पोष्ट छ। तस्वीरः देविका घर्ती मगर

जिल्ला विकास समिति, दाङले भारतीय दूतावासको सहयोगमा रु.६७ लाख लागतमा निर्माण गरेको ‘उमाशंकरनाथ योगी स्मृति सामुदायिक बाल अस्पताल’को भवन सञ्चालनमा आउन नसकेपछि त्यसलाई प्रहरी पोष्ट बनाइएको छ। २०६६ असारमा निर्माण सम्पन्न भई २०७० माघमा हस्तान्तरण गरिएको घोराही–१ सर्रास्थित भवन लामो समयसम्म सञ्चालनमा नआएपछि प्रहरीले प्रयोग गर्न थालेको हो। अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रदीप योगी बाल अस्पताल सञ्चालन नहुनु बिडम्वना भएको बताउँछन्।

२०६३ देखि २०६७ सम्म सञ्चालन भएको अस्पताल कर्मचारीलाई तलब खुवाउन नसकेपछि २०६७ सालमा बन्द भएको थियो। बालबालिकाको उपचारका निम्ति खोलिएको अस्पताल सञ्चालन नहुँदा बाल रोगीहरू धेरै खर्च गरेर अन्यत्र जानुपर्ने बाध्यतामा छन् भने रु.१५ लाखभन्दा बढी मूल्यका अस्पतालका उपकरणहरू त्यसै थन्किएका छन्। “शुरूमा अस्पताल सञ्चालनका लागि जिविस र नगरपालिकाले सहयोग गरे पनि अहिले कुनै निकायबाट सहयोग मिलेको छैन”, अध्यक्ष योगी भन्छन्, “अब भएको संरचना पनि क्रमशः नष्ट हुँदै जान थाल्यो।” १६ कट्ठा क्षेत्रफलमा रहेको अस्पताल सञ्चालनमा ल्याउन राजनीतिक दल र सरोकारवालासँग आग्रह गर्दा कुनै सहयोग नपाएको सञ्चालक समितिको गुनासो छ।

जिल्ला विकास समिति दाङका सूचना अधिकृत कृष्ण केसी निर्माण खर्चको सही विवरण समयमै प्राप्त नहुँदा भवन हस्तान्तरणमा ढिलाइ भए पनि हस्तान्तरणपछि सञ्चालन हुन नसक्नुको मुख्य जिम्मेवार अस्पताल सञ्चालक समिति भएको बताउँछन्। जिविसले अस्पताल भवन निर्माणमा प्राविधिक कमजोरी भएको भन्दै छानबीन गर्न समिति समेत बनाएको थियो।

भवनका १८ कोठामध्ये एउटामा अस्थायी प्रहरी पोष्टको कार्यालय छ भने चारवटा कोठा प्रहरीको आवासका लागि प्रयोग गरिएका छन्। नागरिक समाज, दाङका सचिव चन्द्रराज पन्त भन्छन्, “ठूलो रकम लगानी गरेर बनाइएको बाल अस्पताल भवन सञ्चालन हुन नसक्नु दुर्भाग्य हो, यसमा जिल्ला प्रशासन, जिविसदेखि सबै राजनीतिक दलको ध्यान जानुपर्छ।”

देबिका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>