समाचारबिहीबार, कार्तिक २०, २०७१
‘कांग्रेसले गल्ती सच्याउनुपर्छ’
१९ कात्तिकमा काठमाडौंको कमलादीमा नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्ने मागका साथ आयोजना गरिएको सभामा अभियानका संयोजक एवम् कांग्रेस नेता खुमबहादुर खड्काले ८ माघमा जारी हुने संविधान हिन्दू धर्म सापेक्ष हुनुपर्ने माग गरे । उनले पार्टीको कुनै पनि निकायले नेपाल धर्म निरपेक्ष देश हुनुपर्ने निर्णय नगरेकाले कांग्रेस ‘0सनातन हिन्दूसापेक्ष नेपाल’को पक्षमा रहेको दाबी गरे ।
खड्काले भने, ‘‘कांग्रेसले बेलैमा नसोच्ने हो भने २० बर्षपछि नेपालमा धर्मको नाममा युद्ध हुनेछ ।’’ अभियानका सह-संयोजक लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसका शीर्ष नेताहरुले अरुकाे इसारामा देशलाई धर्म निरेपक्ष घोषणा गरेर ठूलो गल्ती गरेको आरोप लगाए ।
पूर्वसभामुख एवम् पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले चीन र भारतसँग डराउने पश्चिमाहरुले नेपालको धार्मिक अस्तित्वमाथि खेलबाड गरेको भन्दै आफ्नै नेताहरुले गल्ती गर्दा देश संकटग्रस्त भएको बताए ।
अर्का बक्ता चिरिञ्जिवी वाग्लेले हिन्दू धर्मले नै नेपाललाई विश्वमा परिचित गराएको दाबी गर्दै देशलाई हिन्दू धर्म सापेक्ष कायम राखिनुपर्ने बताए । हिन्दू अभियान्ता शंकर पाण्डेले साँस्कृतिक संघीतयायुक्त हिन्दू नेपाल कायम गरिनुपर्ने बताए । उनले भने, ‘‘हिन्दू सैन्य दस्ता तयार पारेर भए पनि हिन्दू सापेक्ष राज्य घोषणा गर्छाै, अव गाई काटेर खानेहरुलाई ठीक पार्ने दिन आएको छ ।’’
घोषणासभामा पूर्व मन्त्री, सांसद र पूर्व नेताहरू सहभागी थिए । उनीहरुले कांग्रेसको आधिकारिक निर्णय हिन्दू राज्य नेपालको पक्षमा पार्ने दावी गरे ।
