ब्लगशनिबार, कार्तिक २२, २०७१
मजलिसको आँखा–१

सम्भवतः १९९० सालको भैंचालोअघिको तस्वीरले देखाउँछ त्यतिबेलाको काठमाडौं। नाम थाहा हुन नसकेका फोटोग्राफरले कसरी र कहाँबाट यो विहंगम तस्वीर खिचे, अज्ञात नै छ। तस्वीरमा देखिएका स्थान र घरहरु सकेसम्म पहिल्याउने कोशिश गरिएको छ। र, सोही क्षेत्रको अहिलेको तस्वीर तल ।
मजलिसको मोहले छाडेन हामीलाई! मूल अरबी भाषाको यो शब्द बगदाद र दिल्लीहुँदै नेपाल पसेको हो उहिल्यै।मजलिस भनेको सभा।
अफगानिस्तान पुगेपछि त्यो मजलिस फैलिएर पस्तुमा संसद् भएको थियो। तर, दिल्लीतिर पुग्दा दुब्लाएर फेरि सभा सम्मेलनमै खुम्चिएछ! त्यसैलाई भित्र्यायो नेपालले।
सङ्गीतका सौखिन महाराज वीरशमशेरले, गानाबजानाका जल्साहरू पनि हुने, निकै मान्छे अटाउने यौटा भवन ‘टाउन हल’ बनाउने विचार गरेछन्। महाराजले चाहेपछि के बेर लाग्थ्योरु रानीपोखरीछेउ त्यस्तो भवन बनेर तयार भयो १९४० सालतिर।
त्यसलाई के नाम दिने भन्ने छलफल हुँदा भव्य नाम जुरेछ ‘मजलिसघर’ भन्ने। त्यसो भन्दा लख्नौ, दिल्लीतिरबाट उस्तादहरू यता बाईजीहरू झिकाउँदा समेत सुहाउने हुँदा महाराजलाई त्यो नाम मन परेको बुझन सकिन्छ। त्यही शब्दलाई हिमाल ले पनि टपक्क टिपेर यौटा स्तम्भ नै बनाइदियो गत वैशाखमा ‘मजलिसघरबाट’नामको !
गत भदौमा ‘मजलिसघरबाट’ मैले विदा लिएपछि संपादकजीलाई पर्नु पीर परेछ, किनभने उहाँ त्यो स्तम्भ नरोकियोस् भन्ने चाहनुहुँदोरहेछ। मैले आफूसँग भन्ने कुरा नै क्यै बाँकी छैन भन्ने कुरा गरें अनि बल्ल उहाँले मलाई छुट्टी दिनुभएको थियो। तर, त्यसबेला मेरो आग्रह माने पनि संपादकजीले मजलिसघरलाई बिर्सनुभएको रैनछ।
अलिपछि फेरि भन्नुभयो, “दीक्षितजी, यो उपत्यकाभित्रकै केही चाखलाग्दा कुराहरू त्यस्तै छोटाछोटा कुथुङ्ग्री कथेर भन्न सकिंदैनरु” संपादकजीका कुराले क्यै नयाँ ढोका खुले जस्तो लाग्यो मलाई पनि र हुन्छ म कोशिश गर्छुु भनें। यही हो मेरो त्यो कोशिश।
तर मलाई स्तम्भको नाम भने पुरानै राख्न मन लागेन र त्यसको निरन्तरता जस्तो पनि हुने गरेर यो नाम जुटाइयो– ‘मजलिसको आँखा’।
म मपुपु–को फोटो संग्रह (अर्काइभ) भित्र पसें। त्यहाँ त अथाह सागरभित्र पुगे जस्तो भयो। अनि आत्तिएर मैले यो एउटा फोटो च्यापेर बाहिर निस्कें (हे.माथि बायाँ तस्वीर)। आज हामी यसैको चर्चा गरौं।
यो फोटो कल्ले, कैले र कहाँबाट खिच्यो मलाई थाहा छैन। शायदै कसैलाई थाहा होला। किनभने यो फोटो त मपुपु–मा पनि इन्टरनेटबाट डाउनलोड भएको हो। तर आफैंमा मार्मिक छ यो फोटो।
यसले उसबेलाको उपत्यकाको मुटु रानीपोखरीको विहङ्गावलोकन गराउँदै उत्तर बूढानीलकण्ठ र शिवपुरीसम्मको परिदर्शन गराउँछ एकै झमटमा।
कस्तो थियो यो ‘खाल्डो’ एक शताब्दीअघि त्यो बताउँछ यल्ले– कति खुला, कति मनोरम रहेछ यो उपत्यका१ यसबारे अलि बढी मीनमेख गरौंला पछि, ऐलेलाई भने यस प्राचीन फोटोमा देखिने भवनहरू कुन कुन हुन् भन्नेतर्फ लागूँ।
त्यो पाठ चाख हुने पाठकहरू आफैं गर्नुहोला। बरु, त्यस्ता जिज्ञासुहरूलाई यौटा आग्रह चाहिं गरिराख्छ यो स्तम्भ। के भने, भवन र स्थान चिन्नेहरूले आफ्ना निर्क्योल लेखेर पठाइदिए कामलाग्ने जतिलाई संपादकजीले हिमाल मा स्थान दिनु नै हुनेछ।
अब माथिको प्राचीन फोटोमा आँखा डुलाऊँ एकैछिन। हेर्नासाथ आँखा तान्छ पहिले त त्यही रानीपोखरीले। रानीपोखरीको यति भव्य रूप यसअघि मैले कुनै फोटोमा देखेको थिइनँ। कति सौम्य देखिन्छ रानीपोखरी यस फोटोमा, कति चोखो र पवित्रजस्तो१ रानीपोखरीको यो ‘भर्जिन ब्यूटी’ अप्रतिम लाग्छ मलाई।
त्यो सौन्दर्यबाट बलैले झिक्न खोज्दा पनि आँखा अन्त जान मान्दैन ! तर, यति धेरै कुराहरू छरिएका छन् तस्वीरमा, कता पो हेरूँ जस्तो हुन्छ।
‘स्रेस्ता पाठशाला’ निकै ठूलो रहेछ त्यस बेलासम्म, रानीपोखरीको डिलमा त्यो राजसी ठाँटमा उभिएको देखिन्छ। त्यसकै अगाडि रहेको ९काशीका विश्वनाथ उल्लेख भएको० नारायणको मूर्ति पनि सजिलै चिनिन्छ।
त्यसैगरी फोटोमा सेतोदरबार, लालदरबार, फोहोरादरबार अनि केशरमहल राम्रै चिनिन्छन्। नारायणहिटीलाई भने रूखहरूले छोपेर अदृश्य बनाइदिए झैं लाग्छ। अझ् पर हेर्दा मोहनशमशेरको लक्ष्मीनिवास हो कि होइन जस्तो अलिअलि सेतो देखिए पनि त्यसै अगाडि रहेको शीतलनिवास चिनिंदैन।
नब्बे सालको भैंचालाले बिगारेपछि त्यो समग्र भत्काएर नयाँ बनाइएकाले पनि शीतलनिवास नचिनिएको हुन सक्छ। नयाँ निर्माण गर्दा आफ्नो सो दरबार कृष्णशमशेरले बृटिस डिजायनको स्थापत्यमा निर्माण गराएका हुन् भनिन्थ्यो।
यति भनिसकेपछि अब अलिकति यो नयाँ स्तम्भकै बारेमा कुरा गरूँ। यस्तै पुराना फोटोहरू मपुपु–को ुअर्काइभु मा अनेकौं छन्। यो काठमाण्डू उपत्यकाकै वरिपरिका पनि धेरै देखेको छु मैले।
त्यस्ता ऐतिहासिक केही फोटोहरूलाई लिएर, ती हराएका, विलाएका र ऐले देख्न नपाइने ‘दृश्य सम्पदा’का बारेमा अलिकता चियोचर्चा गर्ने, भनूँ ध्यानाकर्षणसम्म गर्ने जमर्को हुनेछ यस स्तम्भमा।
हुन त त्यही कार्य पनि मेरो साधिकार चेष्टा हुने छैन, किनभने म त्यस्ता विषयको ज्ञाता, विज्ञ अथवा इतिहासज्ञ होइन। यौटा सिकारूको छामछामछुमछुम मात्र होला त्यो। सो बुझेर यसको रसास्वादन या अन्यथा गर्नुहुनेछ हिमाल का पाठकहरूले।
काठमाण्डू उपत्यका अथवा त्यसबेलाको भाकामा यो ‘नेपाल खाल्डो’ ले यता सय वर्षमा के के र कसरी परिवर्तन गरुर्यो् आफूलाई, कुन प्रकारले यसले कोल्टे फेरुर्योव र अझै कसरी फेर्दैछ त्यो हामी देख्नेछौं सकियो भनें आउँदा दिनमा। माथि दिएको फोटोमा यो ‘खाल्डो’ को उत्तरपट्टिको मोहोडा देखिन्छ।
यस्तै पूर्व, पश्चिम र दक्षिणका ‘बर्डस् आई भ्यू’ भएका फोटो त मैले देखेको छैन तर ऐतिहासिक भवन, देवस्थल र अन्य दर्शनीय स्थानहरूका थुप्रै फोटोहरू छन् त्यो ‘अर्काइभ’मा । तिनलाई यस स्तम्भमा क्रमशः पस्किंदै जाने मेरो प्रयास रहनेछ। त्यसमा पनि पाठकहरूको कुनै ‘फुर्मायस’ आयो भने तिनलाई समेत समेट्ने कोशिश हुनेछ।
त, कस्तो हुन्छ यो स्तम्भ हेर्दै जाऊँ।
९१३ अंकसम्म ‘मजलिसघर’ शीर्षकमा प्रकाशित स्तम्भ यसै अंकदेखि ‘मजलिसको आँखा’ शीर्षकमा निरन्तर गरिएको छ। यसको नाम दरबार हाईस्कूलको दक्षिणपट्टि रहेको ‘मजलिसघर’ बाट लिइएको छ।
यसमा आउने तस्वीरहरू मपुपु–का हुन्। – सं.

