समाचारआइतबार, कार्तिक २३, २०७१
दाहालले हावादारी कुरा गरेः उपप्रधानमन्त्री गौतम
केही दिनअघि पाँचथरको आमसभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले समानान्तर सरकार चलाउँछु भन्नु हावादारी कुरा मात्र भएकाले यसको कुनै अर्थ नरहेको गृहमन्त्री गौतमले टिप्पणी गरेका छन् ।
२३ कात्तिक साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले ८ माघभित्रै संविधान निर्माणको ग्यारेन्टी हुन्छ भने प्रतिपक्षी दलहरूको सहभागितामा संयुक्त सरकार गठन गर्न सकिने पनि बताए । यसअघि काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता दीपकुमार उपाध्यायले मधेशकेन्द्रित दलहरुलाई सरकारमा ल्याउने तयारी भइरहेको बताएका थिए ।
सरकारभन्दा पनि संविधान निर्माण महत्वपूर्ण भएकाले जनतालाई सङ्घीय लोकतान्त्रिक संविधान दिनका लागि जस्तोसुकै लचकता अपनाउन आफूहरू तयार रहेको गौतमको भनाई थियो ।
उनले एमाले र कांग्रेसको सात प्रदेशको प्रस्ताव जनताको पक्षमा भएकाले सातबाट ६ प्रदेश निर्माण गर्न सकिने तर ८ प्रदेश कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए ।
संविधान निर्माणका सहमति र असहमतिका विषयलाई मत विभाजन प्रक्रियामा गएर भएपनि बहुमतबाट पारित गरी ८ माघभित्रै संविधान जारी गरी छाड्ने उनले बताएका थिए ।
